राष्ट्रिय फुटबल टिमका तीन खेलाडी सोमबार अस्ट्रेलिया पुगेका छन्।फरवार्ड दर्शन गुरुङ, मिडफिल्डर सन्तोष तामाङ र डिफेन्डर नवीन गुरुङ सोमबार अस्ट्रेलियाको मेलवर्न पुगेका हुन्।
तीनै जना अस्ट्रेलियाको स्थानीय टिमबाट खेल्नका लागि त्यहाँ पुगेका हुन्।तीनै जनालाई युनाइटेड एफसी मेलवर्नले सोमबार स्वागत गरेको छ। क्लबले तीनै जनालाई अनुबन्धन गरेको विषयमा भने केही खुलाएको छैन।
अस्ट्रेलिया पुगेका फुटबलरले त्यहाँको स्थानीय लिग खेल्ने बुझिएको छ। युनाइटेड एफसी मेलवर्नले हाल त्यहाँको स्थानीय एमसीएसए प्रिमियर लिग २०२२ खेलिरहेको छ। एमसीएसए प्रदेशस्तरको तल्लो डिभिजनको प्रतिस्पर्धात्मक एम्याचोर लिग हो।
यता चार वर्षअघि राष्ट्रिय टिममा डेब्यू गरेका सन्तोष तामाङ आर्मीका प्रभावशाली मिडफिल्डर हुन्। पछिल्लो समय आर्मीको मुख्य खेलाडी बनेका सन्तोषले राष्ट्रिय टिमबाट १६ खेल खेलिसकेका छन्।
पछिल्लो समय नेपाली फुटबलर भविष्य खोज्दै अस्ट्रेलिया जाने क्रम बढेको छ। यो वर्ष मात्रै राष्ट्रिय टिमका पाँच खेलाडी अस्ट्रेलिया गइसकेका छन्।
यसअघि सुमन लामा र आसिष लामा पनि अस्ट्रेलिया पुगेका थिए। त्यहाँको स्थानीय टिमबाट फुटबल खेलिरहेका सुमन र आसिष अघिल्लो वर्षसम्म राष्ट्रिय टिममा महत्वपूर्ण खेलाडी थिए।