राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाको टीका कार्यक्रम स्थगित

काठमाडौं, ३० असोज । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वराजा ज्ञानेन्द्र शाहलगायत विशिष्ट व्यक्तिले सर्वसाधारणलाई दशैंमा टीका लगाइदिने कार्यक्रम यस वर्ष स्थगित हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको चाडपर्व जात्रा तथा उत्सव मनाउँदा पालना गर्नुपर्ने मापदण्डमा भीडभाड नगरी एउटै घरमा बसोबास गर्ने व्यक्तिबाहेक अन्यसँग भेटघाट कम गर्र्नुपर्ने उल्लेख गरेका कारण यो वर्षको दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम स्थगित भएको हो ।

तर राष्ट्रपति कार्यालयले भने यो विषयमा निर्णय हुन बाँकी रहेको जनाकारी दिएको छ । ‘मापदण्डअनुसार सबैलाई जानकारी भएको विषय हो, तर राष्ट्रपति कार्यालयबाट सार्वजनिक सूचना जारी गर्न बाँकी छ।’ –राष्ट्रपति कार्यालयका सहसचिव एवं प्रवक्ता हरिप्रसाद दहालले नेपाल समाचारपत्रसँग भन्नुभयो । उहाँका अनुसार केही दिन बाँकी रहेकाले राष्ट्रपति कार्यालयले निर्णय गर्न बाँकी छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले यो वर्षको दशैंको अवसरमा आयोजना हुने चियापान र टीका कार्यक्रम स्थगित गर्नुभएको छ । उपराष्ट्रपति कार्यालयका सचिव खगराज बरालले दशैंमा भीडभाड हुने सबै कार्यक्रम स्थगित भएको जानकारी दिनुभयो । आजको समाचारपत्रमा खबर उल्लेख गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया