पब्लिक आवाज/ संवाददाता
चीनको सान्यामा जारी ‘मिस वल्र्ड’ प्रतियोगितामा श्रृंखला खतिवडा फाइनलमा प्रवेश गरेकी छन् । मिस वल्र्डको टप ३० मा पर्नका लागि महत्वपूर्ण मानिने फास्ट ट्र्याक इभेन्टअन्तर्गत उनले दुई विधामा अवार्ड जिती सकेकी छन् । गत सोमबार साँझ भएको घोषणामा श्रृंखलाले ‘मल्टिमिडिया अवार्ड’ र ‘व्युटी विथ पर्पस’ जितेकी हुन् । आइतबार घोषणा भएको‘हेड टु हेड च्यालेञ्ज’मा भने श्रृंखला दोस्रो चरणमा सिंगापूरकी सुन्दरीसंग पराजित भएकी थिइन् ।
मिस वल्र्डमा धेरै महत्वका साथ हेरिने व्युटि विथ पर्पसमा २५ प्रतिस्पर्धीलाई पछि पार्दै श्रृंखलाले बनाएको भिडियो पहिलो भएको हो । विश्वभरका ११८ देशका सुन्दरीले लिएर गएको भिडियोमा आयोजकले ११८ भिडियोहरुमध्ये २५ भिडियोलाई सट्लिस्ट राखेको थियो । यसरी छानिएका २५ भिडियोमध्ये श्रृंखलाले बनाएको भिडियो उत्कृष्ट भएको हो । श्रृंखलाले मकवनपुरको चेपाङ्ग बस्तीमा स्वास्थ्य चौकीको आवश्यकता र स्वास्थ्य चौकीले त्यस समुदायमा आएको परिवर्तनलाई भिडियोमा कैद गरेकी थिइन् । मिशन बानियाले श्रृंखलाको भिडियो निर्माणमा सहयोग गरेका थिए ।
गत सोमबार नै श्रृंखलालाई दाबेदार मानीएको ‘मल्टिमिडिया अवार्ड’को घोषणा पनि भएको थियो । सामाजिक सञ्जालमा उपस्थिति, फलोअर इन्गेजमेन्ट, क्रिएटिभ कन्टेन्ट, र प्रभाव आदिलाई ध्यानमा राखी दिइने अवार्डमा श्रृंखलाले अन्य प्रतिस्पर्धीलाई निकै पछाडि छाडेकी थिइन् । फेसबुक, इन्टाग्राम, मोबस्टार, ट्वीटर, मोडल पावरलाइभ आदि सबै माध्यमबाट दमदार उपस्थिति श्रृंखलाले जनाएकी थिइन् ।
सामाजिक सञ्जाल बाहेक प्रतियोगीले मिल वल्र्डको आफ्नो यात्रालाई प्रस्तुत गर्ने शैली पनि निर्णयको आधारको रुपमा अगाडि सारिएको थियो । उनी दुई विधाका अवार्ड जितेसँगै फाइनलमा प्रवेश गरेकी छन् । अब ३० प्रतियोगीबाट १२ प्रतियोगी अर्को चरणमा पुग्नेछन् । सोही १२ प्रतियोगीबाट ५ जना अर्को चरणमा पुग्नेछन् । यिनै पाँचजनामध्ये एक जना मिस वल्र्ड बन्नेछ । दुई विधामा अवार्ड जितेकी श्रृंखला मिस वल्र्ड बन्न सक्ने सम्भावना घेरै बलीयो छ ।