काठमाडौँ, साउन ५ गते । सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको पानी काठमाडौँ उपत्यकामा ल्याउने काम सुरु भएको तीन दसक नाघ्यो । काम सुरु भएको ३१ वर्ष हुँदा पनि मेलम्चीको पानी आएको छैन । काम फटाफट भएमा अझै डेढ वर्ष कुर्नुपर्ने देखिएको छ ।
गत जेठ ६ गते मन्त्रिपरिषद् बैठकले मेलम्ची खानेपानी आयोजनाको आवश्यक निर्माण कार्य गर्न मेलम्ची खानेपानी विकास समितिलाई निर्देशन दिएपछि आयोजनाले निर्माणको बाँकी काम गर्न गएको जेठ १७ गते बोलपत्र गरेको छ । सुरुङ निर्माणका लागि दुई र हेडबक्स निर्माणका लागि दुईवटा कम्पनीले बोलपत्र दर्ता गराएका थिए ।
तीमध्ये एउटा चिनियाँ कम्पनीको बोलपत्र छ ।
सबै बोलपत्रको प्राविधिक मूल्याङ्कन गरी स्वीकृतिका लागि एसियाली विकास बैङ्क (एडीबी)मा पठाइएको जानकारी समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले दिनुभयो । एडीबी आयोजनाको प्रमुख लगानीकर्ता हो । कार्यकारी निर्देशक कँडेल भन्नुहुन्छ, “बोलपत्रको प्राविधिक मूल्याङ्कन गरी एडीबीमा पठाएका छौँ, दुई–तीन हप्तामा सम्झौता हुनसक्छ, आउने २०७७ असार मसान्तसम्म अधिकांश काम सक्ने योजना छ । ”
मेलम्चीको काममा सुरुदेखि नै समस्या भयो । मेलम्चीका विज्ञहरू भन्छन्, “बाहिरी पक्षबाटै धेरै सताइयो । डिजाइनबाटै समस्या भोग्नुप¥यो । छवटा अन्तर्राष्ट्रिय सहयोगी संस्था संलग्न थिए, उनीहरूको आ–आफ्नै कार्यसूची थिए । आयोजनामा संलग्न हुनेहरूको भनाइ छ, “डिजाइनदेखि प्रविधिको प्रयोग अनि सामाजिक उत्तरदायित्व र निर्माण कम्पनी छनोटसम्ममै आयोजना चुक्यो, जसले गर्दा लामो समय खर्चिनु प¥यो । एक अधिकारी भन्छन्, “स्थानीयको जग्गा लिन्नौँ भन्दा पनि मेरो जग्गा किन लिइएन भनेर अवरोध हुन्थ्यो, मेरो जग्गा लिएन भने मेरो घर अगाडिको बाटो पिच गर्न दिन्न भनेरसमेत अवरोध हुन्थ्यो, आयोजनामा पटकपटक ताला लाग्थे । ”
यसैगरी कम्पनी छनोटमा पनि चुक्यो आयोजना । कागजात राम्रो हुने तर व्यवहारमा काम हुन नसक्ने कम्पनी छनोट भए । चाइनिज कम्पनीले सम्झौताअनुसार काम गर्नै सकेन । सीएमसीको कागजात धेरै राम्रो आएको थियो तर सुरुदेखि नै बेइमानी ग¥यो । सडक राम्रो नभएकादेखि अनेक बहाना बनायो ।सीएमसीले एक महिनामा ल्याउनुपर्ने बैङ्क ग्यारेन्टीसमेत चार महिनामा ल्यायो । सीएमसीको डकुमेन्ट अनुसारको काम व्यहारमा एक दिन पनि नदेखिएको अधिकारीहरूको भनाइ छ । भूकम्प र नाकाबन्दीले सीएमसीले गरिरहेको ढिलाइलाई सहयोग ग¥यो । बरु क्षतिपूर्ति दाबी गर्ने अवसर पायो । सीएमसीको नियत नै खराब रहेको जानकारहरू बताउँछन् । सुरुदेखि नै यसले धेरै पैसा दाबी गर्दै आएको थियो ।
अब भने होसियारीपूर्वक पहिल्यै एकअर्काको काम किटान गरेर सम्झौता गर्नुपर्ने विज्ञहरूको सुझाव छ । निर्माण कम्पनी काम गर्न थालेपछि आयोजना पनि सँगै बस्नुपर्छ । कुन कुन औजारहरू ल्याउनुपर्ने हो, पहिल्यै किटान गरी कहिलेसम्म ल्याउने भन्ने टुङ्गो लाग्नुपर्छ । निर्माण कम्पनीले के गर्ने र आयोजनाले के सपोर्ट गर्ने भन्ने कुराको पहिल्यै किटान गरिनुपर्छ । विगतमा त्यसो नगर्दा कम्पनीहरूले अनावश्यक दुःख दिने बहाना बनाउने, ढिलाइ गर्ने काम भयो । त्यसैको परिणाम मेलम्ची अहिलेसम्म आउन सकेन ।
आजकाे गाेरखापत्रमा लक्ष्मण दर्नालले लेखेका हुन ।