माग्ने बुढाको पारिश्रमिकबारे चर्चा माग्ने राजा’मा उनले कति पाए?

९ असार, काठमाडौं । अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ हालै पुनः चर्चामा छन्—यसपटक अभिनय होइन, उनले लिएको पारिश्रमिकका कारण।

‘कंगारू’पछि साइन गरेका फिल्महरूबाट उनले ५० लाख रूपैयाँभन्दा बढी पारिश्रमिक लिएको चर्चा भइरहेका बेला, ‘माग्ने राजा’ फिल्ममा त उनले झनै बढी पारिश्रमिक पाएको खुलासा भएको छ।

फिल्म ‘माग्ने राजा’ को पोस्टर सार्वजनिक कार्यक्रममा निर्माता मुनाल घिमिरेले माग्ने बुढाले ६१ लाख रूपैयाँ पारिश्रमिक लिएको जानकारी दिए। “हामीले केदार घिमिरेलाई ५१ लाख रूपैयाँ दिइसकेका छौं, १० लाख दिन बाँकी छ। कुल ६१ लाख रूपैयाँको प्रतिबद्धता गरेका छौं,” घिमिरेले भने।

कार्यक्रममा करसम्बन्धी प्रश्न उठ्दा माग्ने बुढाले आफू करप्रति सजग रहेको प्रतिक्रिया दिए। उनले भने, “इमानदारीताका साथ कर तिर्छु। कर नतिरी राज्यले मलाई केही गरेन भनेर गुनासो गर्न मिल्दैन। देशका लागि कर तिर्नुपर्छ।”

सोही कार्यक्रममा अभिनेत्री वर्षा शिवाकोटीको पारिश्रमिकबारे पनि प्रश्न उठ्यो। तर, निर्माताले उनको पारिश्रमिक खुलाउन चाहेनन्। “माग्ने बुढाको पारिश्रमिकबारे बजारमा चर्चा भएपछि जानकारी दिइयो। वर्षाजीले जति पैसा भन्नुभयो, त्यति दिएको हो। तर रकम सार्वजनिक गर्न मिल्दैन,” घिमिरेले स्पष्ट पारे।

‘माग्ने राजा’ फिल्मलाई ऋषि लामिछानेले निर्देशन गरेका छन्। करिब ८ वर्षपछि निर्देशनमा फर्किएका लामिछानेले फिल्मप्रति इमानदार प्रयास गरिएको बताए।

केदार घिमिरे, वर्षा शिवाकोटी, विल्सनविक्रम राईलगायत कलाकारहरूको अभिनय रहेको फिल्म ‘माग्ने राजा’ भदौ ६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया