काठमाडौँ, सीमावर्ती भारतीय राज्य बिहारमा हुने तेस्रो चरणको लोकसभा निर्वाचनका लागि वैशाख २७ गतेदेखि २९ गतेसम्म अर्थात मे १० देखि १२ तारिकसम्म्म ३ दिन नेपाल भारतको सीमा नाका बन्द हुने भएको छ ।
तीन दिनसम्म देशकै प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार नाका र सिर्सिया सुख्खा बन्दरगाह भन्सार नाका पनि बन्द हुने भएको हो । पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार भारतीय पक्षको आग्रहमा लोकसभा निर्वाचनको सुरक्षालाई मध्यनजर गरेर तीन दिन सीमा नाका बन्द गर्न लागिएको हो ।
विगतमा ४८ घण्टा सीमा बन्द गर्ने गरिएको भए पनि दुवै पक्षको सहमति र समन्वयमा अबदेखि निर्वाचनको समयमा ७२ घण्टा सीमा नाका बन्द हुने उनले बताएका छन् ।
उनि भन्छन्, ‘ विगतमा पनि निर्वाचनको समयमा सुरक्षालाई मध्यनजर गरेर सीमा बन्द गर्ने गरिएकै हो, यसपालि पनि त्यस्तै हुँदैछ । वैशाख २७ गतेदेखि २९ गतेसम्म सीमा नाका बन्द गरेर सहयोग गर्न भारतीय पक्षले पत्राचार गरेको छ, उनीहरुले अत्यावश्यक पेट्रोलियम पदार्थ नरोक्ने भनेका छन् । ‘
प्रमुख जिल्ला अधिकारी भट्टराईका अनुसार सीमावर्ती शहरमा प्रशारणमा रहेका मिडियालाई मौन अवधिमा प्रचार प्रसार नगरिदिन पनि भारतीय पक्षले पत्र मार्फत आग्रह गरेको छ ।