काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ५ दिने भ्रमणमा जापान जानेभएका छन् । चार सदस्यीय भ्रमणदल सहित आउँदो साउन २१ उनी टोकियो पुग्ने कार्यक्रम रहेको छ ।
नेपाल-जापानबीच रहीआएको सुमधुर सम्बन्धले थप उचाई हासिल गर्ने अपेक्षा गरिएको पूर्वप्रधानमन्त्री प्रचण्डको उक्त भ्रमणलाई निकै चासोका साथ हेरिएको छ ।
नेपालमा वैदेशिक लगानीको वातावरण निर्माण गर्न र नेपालको पर्यटन प्रवर्द्धनका लागि आवश्यक पहल गर्ने उद्देश्यका साथ उनको जापान भ्रमण हुन लागेको नेपाली जनप्रगतिशील मञ्च जापानका अध्यक्ष भवानी पन्तले जानकारी दिए ।
प्रचण्डको जापान भ्रमण बारे धेरै पहिलेदेखि चर्चा चल्दै आएको भएता पनि अनुकुल नपरेकोले यसपटक मात्र जापान भ्रमणको तय भएको उनका स्वकीय सचिव रमेश मल्लले बताए । उनको जापान भ्रमण पहिलोचोटी हुन लागेको हो ।
भ्रमणका क्रममा प्रचण्डले जापानका उच्चस्तरिय राजनैतिक नेता तथा अधिकारीहरुसंग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताईएको छ भने उनले नेपाली समुदायलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
जसअनुसार नेपाली जनप्रगतिशील मञ्च जापानको आयोजनामा अगष्ट ७ तारिख (साउन २२ गते) आईतबार हुन लागेको कार्यक्रममा प्रचण्डले जापानबासी नेपालीहरुसंग अन्तरक्रिया गर्ने भएको छ । ’समृद्ध नेपालको आधारः आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख वक्ताको रूपमा प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको मञ्चका महासचिव बाबुराम पौडेलले जानकारी दिए ।
मञ्चले दिएको जानकारी अनुसार उक्त कार्यक्रम टोकियोको खामेइदोस्थित कल्चर सेन्टरमा साँझ ५:३० बजेदेखि हुने भएको छ ।