बौद्ध-जोरपाटी सडक आइतबारदेखि कालोपत्रे हुने भय पछि आन्दोलन स्थगित

लामो समयदेखि अलपत्र चावहिल–साँखु सडकखण्डको टुसाल–जोरपाटी सडकखण्ड तत्काल कालोपत्र हुने भएको छ।

धुलो र हिलोले आजित बनेका बौद्ध, टुसाल, जोरपाटीका स्थानीय व्यवसायी र सर्वसाधारणले बिहीबार यातायात अवरुद्ध पारी सडक कालोपत्रे गर्न माग गरेका थिए।

सडकमा उत्रिएका आन्दोलनकारी र उक्त सडकखण्ड निर्माण गर्न ठेक्का पाएको युनाइटेड विल्डर्सबीच ६ बुँदे सहमति भएपछि आन्दोलन स्थगित भएको छ।

स्थानीय बासिन्दा, व्यापारी तथा उक्त सडकखण्ड कालोपत्र गर्ने ठेकेदारबीच भएको सम्झौताअनुसार आइतबारदेखि नै कालोपत्रे गर्ने काम ठेकेदार कम्पनीले शुरु गर्ने सहमति भएको छ।

बौद्ध व्यापार सङ्घका अध्यक्ष दीपक चौलागार्इंले कालोपत्र गर्नुपूर्व रोलर लगाउने, सबवेस, बेस बनाउने काम कार्य शुक्रबारदेखि शुरु गर्ने सहमति भएको छ।

ठेकेदार कम्पनीका प्रमुख शकुन्तलालाल हिराचन, काठमाडौँ महानगरपालिका वडाध्यक्ष दीपेन्द्र लामा, बौद्ध व्यापार सङ्घका अध्यक्ष चौलागार्इं, स्थानीय बासिन्दा तथा टुसाल युवा क्लबका प्रतिनिधिसहित बसेको बैठकबाट सहमति भएको चौलागार्इंले बताए।

बौद्ध व्यापार सङ्घका अध्यक्ष चौलागार्इंले सहमतिपत्रको अक्षरसः पालाना नभए आइतबारबाट पुनः अनिश्चितकालीन चक्काजामको आह्वान गर्ने चेतावनी दिए। संङ्घकी कोषाध्यक्ष मेनुका श्रेष्ठले आन्दोलन फिर्ता लिएको नभई स्थगित मात्र भएको बताइन्।

‘आन्दोलन रोकिएको छैन, सहमतिअनुसार काम नभए पुनः चक्काजाम हुन्छ,’ उनले भनिन्।

चार वर्षदेखि निर्माण अलपत्र परेको चावहिल–साँखु सडकखण्ड अन्तर्गतका सर्वसाधारण तथा स्थानीय व्यपारीले सडककै कारण ठूलो समस्या खेप्दै आइरहेका छन्।

सरकारले २०७२ मा चावहिलबाट साँखुसम्मको सडकलाई २२ मिटर चौडा र ४ लेनको बनाउने योजना ल्यायो। काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्डको निर्माणको लागि बोलपत्र आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो।

कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर सडक खण्डमा ४ कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले यो सडक विस्तारको जिम्मा पाएका थिए। अहिलेसम्म उक्त सडकखण्डले पूर्णता पाउन सकेको छैन।

(रासस)

फेसबुकबाट तपाईको प्रतिक्रिया