मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु साथै बालकको पोखरीमा डुबेको मृत् शरीर फेला पर्यो !

इनरुवा, १८ साउन/सुनसरी सदरमुकाम इनरुवा ७ बर्छवामा पौडी खेल्ने क्रममा शुक्रबार साँझ एक बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १३ वर्षीय अर्पण खबास रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका खबासलाई उपचारको लागि जिल्ला अस्पताल इनरुवा ल्याएकोमा उपचारको क्रममा उनको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिनुभयो ।

यसैबीच सुनसरीको इटहरी २० पानीपियास्थित कोशी राजमार्ग जङ्गलमा शुक्रबार भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक धरान–८ का २३ वर्षीय सञ्जु अग्रवाल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

धरानबाट इटहरीतर्फ आउँदै गरेको को २९ प ४१९५ नम्बरको मोटरसाइकलले इटहरी आउँदै गरेको ना २ च ६६८९ नम्बरको बोलेरोलाई ठक्कर दिँदा मोटरसाइकल चालक धरान–८ का २३ वर्षीय सञ्जु लडेका थिए ।

सडकमा लडेका सञ्जुलाई धरानतर्फ जाँदै गरेको मे १ ख २०४५ नम्बरको बसले किच्दा घटनास्थलमै उनको मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार बोलेरोका चालक उदयपुरको बेलटार–३ का ४२ वर्षीय सन्तमान याक्खा र बसचालक झापाको मेचीनगर–१ का ४३ वर्षीय रमेश खतिवडा प्रहरीको नियन्त्रणमा रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया