काठमाडौँ, नीति तथा कार्यक्रमलाई राष्ट्रपतिले मेरो सरकार भनि सम्बोधन गर्दा उक्त विषयले हाल राष्ट्रपति जस्तो संस्थालाई पुन विवादमा तानेको छ ।
उक्त कुरा माथि प्रमुख विपक्षी नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ । विपक्षी दलका नेता शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रममाथि संसदमा सुरु भएको छलफलमा भाग लिँदै रो सरकार भन्नु बेलायती महारानीको शैली भएको बताएका छन् ।
कांग्रेस सभापति देउवाले भने, ‘ बेलायती महारानीको शैलीमा सम्बोधन गर्न लगाएर थप विवादमा पारेको छ । यो लोकतान्त्रिक गणतन्त्रका लागि शुभसंकेत होइन । ‘
साथै सांसद मिनेन्द्र रिजालले राजाले मेरो सरकार भनेर सम्बोधन गर्ने र अन्त्यमा पशुपतिनाथले कल्याण गुरुन् जयनेपाल भनेर टुंग्याउने गरेको स्मरण गराउँदै भने, ‘ त्यो प्रवृत्तिमा सरकार हिँड्दैछ । ‘
उनले सरकारले राष्ट्रपति जस्तो संस्थालाई पटकपटक विवादमा पार्न खोजेको भन्दै भने, ‘ राष्ट्रपति जस्तो सम्माननीय संस्थालाई आलोचनाको पात्र नबनाउनूस्, गणतन्त्रप्रति जनताको विश्वासलाई किल्चेर नहिँड्नुस् । ‘