बालुवाटार जग्गा प्रकरण : भूमाफियाको अर्को ठुलो पर्दाफास !

फाइल फोटो

काठमाडौँ, बालुवाटार जग्गा प्रकरणमा भूमाफियाको अर्को ठुलो कर्तुतको पर्दाफास भएको छ । भूमाफियाले बालुवाटार स्थित ललितानिवासले चर्चेको जग्गा धितो राखी १५ विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएको पाइएको छ ।

यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ । ललितानिवासको सरकारी जग्गा धितो राखेर १५ बैंक तथा वित्तीय संस्थाबाट दुई अर्ब ३० करोड रुपैयाँ भन्दा बढी कर्जा लिनेमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, भूमाफिया किटान गरिएका डा. शोभाकान्त ढकाल र रामकुमार सुवेदी तथा उनीहरूका परिवार र आधा दर्जन व्यापारिक घराना रहेको तथ्य खुलेको छ ।

श्रोतका अनुसार २०६३ देखि २०७३ साल सम्मको अवधिमा उनीहरूले सरकारी जग्गा धितो राखेर कर्जा लिएका हुन् । नागरिकलाई प्राप्त विवरण अनुसार भूमाफिया र व्यापारीले नेपाल बैंक लिमिटेड, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड, कैलाश विकास बैंक, लक्ष्मी बैंक, हिमालयन बैंक, युनिक फाइनान्स, बैंक अफ एसिया, नेपाल डेभलपमेन्ट एन्ड इम्प्लोइमेन्ट कमर्सियल प्रमोसन बैंक, आर्यतारा बचत तथा सहकारी संस्था, काष्ठमण्डप डेभलपमेन्ट बैंक, प्राइम कमर्सियल बैंक, किस्ट बैंक, यती डेभलपमेन्ट बैंक र आइएमई फाइनान्सियल इन्टिच्युसनबाट सो कर्जा लिएको देखिन्छ ।

यि मध्येका यती र महालक्ष्मी मर्ज भएर हाल महालक्ष्मी विकास बैंक भइसकेको छ । त्यसैगरी आइएमई फाइनान्स र ग्लोबल बैंक मर्ज भएर ग्लोबल आइएमई बैंक बनिसकेको छ ।

अनुसन्धानमा संलग्न स्रोतका अनुसार यी बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा भूमाफियाले अन्यत्र जग्गा खरिदमै लगानी गरिएको छ । श्रोतले भने, ‘ ललितानिवासका तत्कालीन भोगाधिकारीबाट आफ्नो नाममा जग्गा ल्याएपछि गुरुङ, ढकाल र सुवेदी तथा अन्य व्यापारीले सेटिङमै करिब डेढ दर्जन बैंकबाट दुई अर्ब ३० करोड रुपैयाँ कर्जा लिएका रहेछन् । उक्त कर्जा व्यक्तिगत तथा सामूहिक रूपमा जग्गा खरिदमै लगानी गरेको पनि देखियो । ‘

 

फेसबुकबाट तपाईको प्रतिक्रिया