बन्चरे र सिसडोल वासिन्दाले दिए यस्तो धम्की, महानगरवासीलाई तनाव

काठमाडौं – बन्चरेडाँडा र सिसडोल क्षेत्रका वासिन्दाले फोहोर लान नदिने धम्की दिएका छन् ।स्थानीयले साउन ३१ भित्र फोहोरमैला व्यवस्थापन गर्दा प्रभावित हुने विशेष संवेदनशील क्षेत्रबाट मानव बस्तीहरू अलग गर्ने लगायतका काम शुरू नगरे सदाका लागि फोहोर फाल्न नदिने बताएका छन् ।

स्थानीय संघर्ष समितिले हिजो बुधबार शहरी विकास मन्त्री मेटमणि चौधरीलाई ज्ञापनपत्र बुझाएर फोहोर रोक्ने चेतावनी दिएका हुन् । त्यस्तै, गृहमन्त्री बालकृष्ण खाँणलाई पनि सो पत्र बुझाउने तयारी गरेको तर मन्त्रीको समय नमिलेका कारण सो काम बाँकी रहेको समितिका संयोजक श्रीराम ढुंगानाले जानकारी दिए ।

स्थानीयसँगै फोहोर बोक्ने सवारी चालक र सहचालकको स्वास्थ्य बिमा गर्ने, प्रभावित क्षेत्रको पूर्वाधार विकासका लागि वार्षिक बजेटलाई निरन्तरता दिने, प्रभावित क्षेत्रमा हरियाली बढाउने, कृषि प्रवर्धनका काम गर्ने, फोहोरलाई स्रोतमा वर्गीकरण गरेर व्यवस्थापनको काम थालनी गर्ने सहमति पत्रमा लेखिएको छ । सहमतिअनुसार कामपाले १ देखि ६ महिनाभित्र स्थानीयको काम गरिसक्नुपर्ने उल्लेख भएको थियो । ‘सहमति भएको दुई महिना बित्दा पनि अधिकांश माग कार्यान्वयन नभएका कारण आन्दोलन घोषणा गर्न लागेका हौं’ – संयोजक ढुंगानाले भने ।

वैज्ञानिक अध्ययनका आधारमा प्रभावित क्षेत्र छुट्याउने, यसका आधारमा अधिकरण, मुआब्जा वितरणलगायतका काममा महानगरले सम्बन्धित मन्त्रालयमा पहल गर्ने, सिसडोलको क्यापिङ्सम्बन्धी अध्ययन गराएर त्यसको सिफारिसका आधारमा ६ महिनाभित्र व्यवस्थित रूपमा वर्गीकरण गरिएको फोहोरमात्र ल्यान्डफिल साइटमा खसाल्ने उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया