काठमाडौँ, आईतबार काठमाडौँ क्षेत्र न १ मा आयोजित राष्ट्रिय जागरण अभियान अन्तर्गत कार्यक्रममा सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकार संघीयता असफल बनाउनको लागी क्रियाशील रहेको बताएका छन् ।
उनले प्रधानमंत्री के. पी शर्मा ओलीको बोली र कार्य संबिधान मर्म विपरित रहेको आरोप सम्म लगाएका छन् । उनले सबैलाई सरकारको गलत रवैयाप्रति सजग रहन अपिल समेत गरेका छन् ।
उनले भने, ‘ प्रधानमन्त्रीमा अंहकार र दम्भ बढेको छ । संविधान केही होइन, अब म जे बोल्छु त्यही नै सबैले मान्नुपर्छ भने जस्तोगरी प्रस्तुत हुनु अशोभनीय छ । दम्भ र अहंकार त्यागेर संविधानको पालना गर्नुपर्छ । ‘
उनले प्रधानमन्त्रीले आफुलाई नसच्याए जनतासँगको भावनात्मक सम्बन्ध टुट्ने र अहंकार पनि अन्त हुने चेतावनी पनि दिएका छन् । उनले सरकार काण्डै काण्डमा मुछिएको हुँदा अब सरकारबाट केही अपेक्षा गर्न नसकिने बताएका छन् ।
उनले मेलम्ची खानेपानी बारे बोल्दै भने, ‘ मन्त्री र सचिवले ठेकेदार कम्पनीसँग पैसा मागेकाले ठेकदार कम्पनीले हात झिकेको कुरा आइरहेको छ । यो अत्यन्त दुःखद हो । ‘
उनले सरकारले भ्रष्टाचारका मुद्दामा निश्पक्ष ढंगले काम-कारवाही अघि बढाउन पनि आनाकानी गरिरहेको आरोप समेत लगाएका छन् । नेता-कार्यकर्ताहरुको ध्यानाकर्षण गराउँदै उनले भने. ‘ कांग्रेसको कार्यकर्ता हुँ भन्ने, तर अनुशासनमा नबस्ने, कुनै नेता विशेषको बनेर पार्टीभित्र असहयोग गर्नेहरुलाई ठेगान नलगाउँदासम्म कांग्रेस बलियो हुन सक्दैन । ‘