काठमाडौँ, ललितपुरको खुमलटारस्थित निवासमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश २ सरकार ढाल्ने चेतावनी दिएका छन् ।
उनले भने, ‘ मधेसमा अहिले सरकार जसरी चलेको छ, ठीक चलेको छैन, त्यो मधेसी जनताको हित अनुकुल चलेको छैन । तराई मधेसमा पनि कम्युनिष्ट पार्टीकै नेतृत्वमा सरकार बन्नुमात्रै त्यहाँको जनताको हितमा हुनसक्छ । ‘
थप गर्दै उनि भन्छन्, ‘ यहाँसम्म आइपुग्दा झन् बढी भ्रष्टाचार, झन् बढी बेइमानी देखियो । अहिले त योजना निर्माणमा व्यक्ति-व्यक्तिको फोन नम्बरसमेत रेड बुकमा छ भन्ने सुन्दा मलाई आश्चर्य लाग्यो । यही स्थिति हुने हो भने बिचैमा पनि सरकारको नेतृत्व लिनुपर्ने परिस्थिति आउन सक्छ । ‘
नेकपाले चाहे तत्काल नै प्रदेश २ मा नेकपाको सरकार बन्न सक्ने बताउँदै उनि भन्छन्, ‘ हामीले चाहने हो भने, त्यहाँ बिभिन्न खालको चलखेल गर्ने हो भने अहिले पनि सरकार बन्न सक्छ । तर हामीले फेरि उहाँहरुले बनाएको सरकार राम्रो काम गरोस्, हाम्रो साथ हुन्छ भनेर भनेको हो । ‘
साथै प्रचण्डले सरकारले आगामी नीति तथा कार्यक्रममा तराई मधेसका लागि विशेष प्याकेजको व्यवस्था गर्नेबारे पार्टीमा छलफल भएको जानकारी पनि दिएका छन् ।