पूर्वराजा वीरेन्द्र र उनको परिवारको २१,५६३ रोपनी जग्गा बेवारिसे बन्यो !

काठमाडौं  : पूर्वराजा वीरेन्द्र र उनको परिवारका नामको २१ हजार पाँच सय ६३ रोपनी जग्गा नेपाल ट्रस्टमा आएको छ । ती जग्गा सदुपयोग हुन नसक्दा बेवारिसे बनेको छ । ट्रस्टमा आएको जग्गामध्ये कोही लिजमा दिइएको छ कोही भाडामा छ, कोही जग्गा कब्जा गरिएको छ ।

भाडामा कति ?

काठमाडौं सोल्टीमोडमा रहेको पाँच सटरलाई मासिक ६७ हजार ५० का दरले भाडामा दिइएको छ ।

एउटा सटर मासिक २५ हजारका दरले दिइएको छ । अर्को एउटा सटर प्रतिमहिना ३६ हजार तीन सयमा दरमा भाडामा दिइएको ट्रस्टले जनाएको छ । कम्प्लेक्सबाट भाडाबापत ट्रस्टले १५ लाख ४५ हजार ६ सय रुपैयाँ वार्षिक आम्दानी गर्दै आएको छ ।

सोल्टीमोड रेडक्रस मार्गस्थित सार्वजनिक खरिद तथा अनुगमन कार्यालय पनि ट्रस्टकै जग्गामा छ । कार्यालयले ट्रस्टलाई वार्षिक १२ लाख भाडा बुझाउँछ ।

कमलादीस्थित गरिबी निवारण कोष र काठमाडौं उपत्यका खानेपानी लिमिटेडको कार्यालय पनि ट्रस्टकै जग्गामा छन् ।

कोषले भाडाबापत मासिक एक लाख ८६ हजार बुझाउँदै आएको छ भने दुई रोपनी १२ आना ओगटेको केएलकेयूले मासिक ५५ हजार ८ सय ७३ रुपैयाँ तिर्दै आएको छ ।

धनकुटाको  विद्यालयले वार्षिक दुई लाख भाडा तिर्छ ।

ऐतिहासिक सम्पदा बेवारिसे

चितवनको भरतपुरस्थित दियालो बंगला बेबारिसे छ । ७६७ रोपनी ११ आना १ पैसा १ दाममा फैलिएको बंगलामा पूर्वराजा महेन्द्रको मृत्यु भएको थियो । पोखरामा रहेको रत्न मन्दिरको अवस्था उस्तै छ । रत्न मन्दिरको १७४ रोपनी ४ आना २ पैसा नेपाली सेनाले कब्जा गरेको छ ।

नुवाकोटको थानसिङकै १७२ रोपनी २ आना जग्गा बेवारिसे छ । नुवाकोटको थानसिङस्थित ६५ रोपनी ११ आना २ दाम जग्गामा बगैंचा छ ।

भक्तपुर कटुन्जेस्थित तीनकुनेको १०८ रोपनी २ आना १ पैसा जग्गा कब्जा गरिएको छ । भक्तपुर नगरपालिकाले नै कब्जा गरी जग्गामा तारबार गरेको हो ।

ट्रस्टका पूर्वकार्यकारी सचिव भीमप्रसाद उपाध्यायले ट्रस्टको जग्गा सरकारको नभएकाले उसले लिनै नपाउने बताए । ‘यो राज्य जग्गा हो, सरकारको होइन, यो जग्गा सरकारको स्वामित्वमा आउनै सक्दैन,’ उनले भने, ‘यो लिजमा वा भाडामा मात्रै दिन लिन सकिन्छ ।’

महाराजगन्जस्थित एक रोपनी सात आना एक दाम जग्गामा पूर्वराजा ज्ञानेन्द्रको सुरक्षार्थ बसेको सशस्त्र प्रहरीले कब्जा गरेको छ । पटकपटक भाडा लिन वा छोड्न परिपत्र गरे पनि सशस्त्रले सुनुवाइ नगरेको ट्रस्टले जनाएको छ ।

सिन्धुपाल्चोकको थाङपाल्धापको २७ रोपनी १३ आना १ पैसा १ दाम जग्गा बाँझो छ । ललितपुर गोदामचौरको २७ रोपनी १३ आना १ पैसा १ दाम अतिक्रमण गरिएको छ । धादिङको छत्रे देउराली १५ हजार १०१ रोपनी ११ आना २ पैसा १ दाम बेवारिसे छ । सुर्खेतको लाटीकोइलीमा चार सय ५७ रोपनी सात आना २ दाम जग्गा प्रयोगविहीन छ ।

यो समाचार अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिक अखबारमा  सुरेन्द्र काफ्लेले लेखेका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया