सीसीटीभी फुटेजबारे प्रहरीले भेट्टाएको त्यो ‘क्लु’ : आज बिहान सीसीटीभी हार्डडिस्कको फरेन्सिक रिपोर्ट हेरिँदै

काठमाडौँ- बजेट घोषणाको अघिल्लो दिन जेठ १४ गतेको सीसीटीभी फुटेजबारेको रिपोर्ट नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले संसदीय विशेष छानबिन समितिलाई दिएको छ । प्रहरीले प्रयोगशालाले सोमबार समितिलाई रिपोर्ट दिएको हो ।

रिपोर्ट मंगलबार बिहान समितिको बैठकमा खोलिने स्रोतले बताएको छ । बजेट निर्माणमा करको दर हेरफेर गर्न अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा समितिले अहिलेसम्म कुनै प्रमाण फेला पार्न सकेको छैन ।

समितिले अर्थ मन्त्रालयबाट सीसीटीभी फुटेज मागे पनि जेठ १४ को फुटेज नपाएपछि ‘रिकभर’का लागि प्रहरीको फरेन्सिक ल्याब पठाएको थियो ।

समितिका सदस्यबीच तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको कल डिटेल हेर्ने/नहेर्ने भन्ने विषयमा विवाद उत्पन्न भएको छ । समितिमा रहेका एमालेका सांसदहरूले वैज्ञानिक प्रमाणका रूपमा मोबाइलको कल डिटेललाई समेत आधार मान्नुपर्ने अडान राखेका छन् भने सत्तारूढ दलका सदस्यहरू व्यक्तिको गोपनीयताको हक हनन हुने भन्दै त्यतातिर जान नहुने तर्क गरिरहेका छन्।

अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालय प्रवेश गराएर बजेटमा करको दर हेरफेर गरेको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले जेठ १४ रातिको सीसीटीभी फुटेज भेटेको थिएन ।

मन्त्रालयले फुटेज डिलिट भएको जवाफ दिएपछि छानबिन समितिले रिकभरका लागि प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाइएको थियो ।

छानबिन समितिका सचिव सुरेन्द्र अर्यालका अनुसार प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले सोमबार समितिलाई रिर्पोट बुझाएको छ । तर, रिर्पाटमा के छ भनेर हेर्न मंगलबार बिहान साढे ८ बजेसम्म कुर्नुपर्ने उनले बताए

फेसबुकबाट तपाईको प्रतिक्रिया