काठमाडौँ । प्रदेश-१ की नेकपा एमाले सांसद गुलेफुन खातुन पदमुक्त हुनुभएको छ । सरकारी छाप र दस्तखत किर्ते गरेको मुद्दामा उच्च अदालतल विराटनगरबाट दोषी प्रमाणित गरेको फैसलालाई सर्वोच्च अदालतले पनि सदर गरेपछि सांसद खातुनको पद गएको हो ।
मोरङ जिल्ला अदालत र उच्च अदालत विराटनगरको फैसला विरुद्ध सांसद खातुन सर्वोच्च अदालत गएकोमा सर्वोच्चले त्यस अघिका फैसलालाई सदर गर्दै मुद्दा नै खारेज गरिदिएको हो ।
सांसद खातुनले मोहीबाट प्राप्त हुने जग्गा नामसारीका लागि २०७१ चैत ४ गते तत्कालिन कदमाहा गाविसबाट लिएको सिफारिसकै चलानी नम्बर राखेर गाविस सचिवको दस्तखत समेत नक्कली बनाएर जग्गा एकलौटी बनाउने गरी कर्मचारीको मिलेमतोमा अर्को सिफारिस निकाल्नुभएको थियो । एउटै दर्ता नम्बरमा दुई वटा सिफारिस निकालेपछि उहाँ विरुद्ध सरकारी छाप र दस्तखत किर्ते मुद्दा परेको थियो ।