काठमाडौं | गत साउन ११ गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तले न्याय नपाएको भन्दै आज शनिवार काठमाडौंमा प्रदर्शन गरिएको छ । आज भएको प्रदर्शनमा सहभागीले गृहमन्त्रीको राजीनामा माग गरेका छन् ।
अपराधी पहिचान गर्न तथा कारबाही गर्न सरकार असफल भएको र पन्तलाई न्याय दिन नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गरेका हुन। प्रहरीलेनै घटनासँग सम्बन्धित कयौँ प्रमाणहरू नष्ट गर्दा पनि गृहमन्त्री त्यसमा जवाफदेही नभएको उनीहरुको भनाइ रहेको छ ।
’जस्टिस फर निर्मला’ अभियानमा आज ’महिला हिंसा कहिलेसम्म? हामी चुप जहिलेसम्म’, ’न्याय मर्न दिँदैनौँ’, ’सरकारसँग सिकेछ, प्रहरी पनि बिकेछ’, ’न्याय मार्न पाइँदैन’ लगायतका नारा लगाएका छन् । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वर पुगेर सकिने एक सहभागिले बताए ।