काठमाडौं : नेकपा (एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी १०औँ केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहितका सांसदलाई कारवाही गर्ने जनाएको हो ।
एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले वरिष्ठ नेता नेपालसहितका सांसदले पार्टी विधिविधान र निर्णयविरुद्ध प्रधानमन्त्रीलाई मतदान गरेकाले स्पष्टीकरण सोधिएको जानकारी दिए । आइतबार प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्दा एमालेका २२ सांसदले पार्टी निर्णयवि’रुद्ध विश्वासका पक्षमा मतदान गरेका थिए ।
बैठकले स्पष्टीकरण २४ घण्टाभित्र पेश गर्न भनिएको छ । स्पष्टीकरणका आधारमा कारवाही प्रक्रियाबारे निर्णय हुने उनले बताए । ‘हामीले हिजो संसद्मा भएको समग्र घटनाक्रमलाई नेपालले हासिल गरेका अग्रगतिका प्रयासमाथि एक खालको धक्काका रुपमा लिएका छौँ’, उनले भने, ‘पार्टीका केही सांसदहरुले पार्टी निर्णयको अवज्ञा गर्दै फ्लोरक्रस गर्ने र प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने जुन काम गर्नुभयो । पार्टी अनुशासनको दृष्टिले र कम्युनिष्ट आन्दोलन, जनताको भावनाका सबै दृष्टिले सर्वथा अनुचित, अनुशासनहिन र गलत कार्य भनेको छ ।’
दश बुँदे सहमतिलाई स्थायी कमिटी बैठकले गरेको अनुमोदनलाई सोमबार बसेको बैठकले पनि अनुमोदन गरेको छ । उनले १० बुँदे सहमतिअनुसार नै पार्टीलाई एकताबद्ध बनाउने निर्णयसमेत बैठकले गरेको बताए । ‘दश बुँदे अर्को पार्टीलाई मत दिऔँ, पार्टीको निर्णय अवज्ञा नगर भनेको छैन”, उनले भने, ‘१० बुँदेले पार्टीलाई एकताबद्ध बनाउने हो । उहाँहरुले संसद्मा हिजो जे गर्नुभयो त्यो गलत हो ।’