काठमाडौँ, काठमाडौं महानगरपालिकामा धर्ना कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपाको शान्तिपूर्ण आन्दोलनलाई सरकारले दमन गरे त्यसको प्रतिफल नराम्रो व्यहोर्नुपर्ने चेतावनी दिएका छन् । राप्रपाले बिहीबार देखि देशव्यापी स्थानीय निकायमा धर्ना दिई रहेको छ ।
थापाले भने, ‘ वार्ता र सहमतिमा प्रजातान्त्रिक विधिबाट हाम्रो माग पूरा गरियोस्, दमन भए भागेर जाँदैनौँ, संघर्षलाई थप उचाइमा पुर्याउँछौँ । ‘ उनले मुलुकमा बढिरहेको भ्रष्टाचार र ब्रह्मलुटको विरोध गरे ।
साथै थापाले वाइडबडी जहाज काण्ड, सुन काण्ड, विदेशमा लुकाइराखेको सम्पत्ति काण्ड र अहिले आएको जग्गा काण्डले सरकार भ्रष्टाचारको संरक्षक जस्तो भएको पनि बताए ।
राप्रपाले ७ फागुनमा सरकारलाई बुझाएको २२ बुँदे ज्ञापनपत्रमा उल्लेखित माग पूरा गराउन दबाब दिँदै आएको छ । राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले आउँदो ६ वैशाखमा धर्मनिरपेक्षता लेखिएको ब्यानर जलाउने र ८ गते राजमार्गमा दुईघन्टे सत्याग्रह गर्ने जानकारी दिएका छन् ।