काठमाडौं, ५ असोज । कोभिड–१९ महामारी नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको छ महिनापछि आन्तरिक उडान शुरु आजबाट भएको छ । बन्दाबन्दी शुरु भएको गत चैत ११ देखि साउन ६ गतेसम्म तथा त्यसयता जारी भएको निषेधाज्ञाका कारण झण्डै छ महिना आन्तरिक उडान ठप्प भयो । सामान्य अवस्थाको २५ प्रतिशत मात्रै उडान गर्नेगरी सरकारले आन्तरिक उडान सञ्चालन गरेको हो ।
एक सातापछि क्रमशः उडान सङ्ख्या थपिने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । वायु सेवा प्रदायक कम्पनीले पनि पहिलो साता २५ प्रतिशत उडान हुने र क्रमशः यात्रुको माग र बजारको आवश्यकतालाई मध्यनजर गर्दै उडान सङ्ख्या बढाइने बताएका छन् । उडान खुलेसँगै ठूला वायुसेवा कम्पनी बुद्ध एयर र यती एयरलाइन्सको मुख्य गन्तव्यमा ७० देखि ७५ प्रतिशत टिकट बुकिङ भइसकेको छ ।
सीमित सङ्ख्यामा उडान गर्ने भए पनि एयरलाइन्सले हवाई भाडा वृद्धि गर्न पाउने छैनन् । उनीहरुले सामान्य अवस्थाको भाडादरमै उडान गर्नेछन् । कतिपय गन्तव्यमा न्यूनतम भाडादरमा नै सेवा सञ्चालन गरिने एयरलाइन्सले उल्लेख गरेका छन् । यसअघि भदौ १ देखिनै आन्तरिक उडान खोल्ने सरकारले निर्णय गरेको थियो । राजधानी काठमाडौँसहित देशभर कोरोना सङ्क्रमण बढेपछि आन्तरिक उडान पुनः स्थागन गरिएको थियो । पछिल्लो पटक भदौ मसान्तदेखि देशका विभिन्न स्थानमा लगाइएको निषेधाज्ञा पनि खुला भइसकेको छ ।
फोटोः रासस