गृहमन्त्री थापाद्वारा चुकेप्रति श्रद्धाञ्जलि

गृहमन्त्री रामबहादुर थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न भरतपुरका संस्थापक नगर प्रमुख मुक्तिलाल चुकेको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।

असार १७ गते निधन भएका स्व चुकेको निवासमा आज आयोजना गरिएको श्रद्धाञ्जलिसभामा गहमन्त्री थापाले परिवारप्रति समवेदना व्यक्त गर्नुभएको थियो ।

उहाँले स्व चुकेलाई प्रजातान्त्रिक योद्धाको रुपमा स्मरण गर्नुभयो ।

गृहमन्त्री थापाले चुकेले भरतपुर नगर स्थापनाका लागि ठूलो त्याग गर्नुभएको उल्लेख गुर्नभयो ।

“नगरको विकास र स्थापनामा चुकेको उल्लेखनीय योगदान रहेको छ, यसलाई नगरवासीले सधैँ स्मरण गर्नेछन्”, गृहमन्त्री थापाले भन्नुभयो ।

पानी माग्दै एक लाख पिपलपातमा ‘रामराम’

गाउँमा पानीको हाहाकार भएपछि तेमाल गाउँपालिका–५ सस्र्यूखर्कका बासिन्दाले रुद्री तथा क्षमापूजा गरी आज पानी मागेका छन् । उनीहरुले एक लाख पिपलको पातमा ‘हरहर महादेव, पानी देऊदेऊ’ र ‘रामराम’ लेख्दै कोशीदेखास्थित सुनकोशी नदीमा बगाएका छन् ।

वर्षा नभएर खेतबारी बाँझै भएको तथा मूल सुक्दै जाँदा खानेपानीको हाहाकार भएपछि धार्मिक मान्यताअनुसार रुद्रीपूजा र क्षमापूजा गरी महादेवसँग पानी मागिएको स्थानीय प्रविन अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “यस भेगमा वर्षा नभएर पानीको हाहाकार हुँदा यसैगरी भगवान्सँग पानी माग्ने चलन रहेछ, आज पनि सोहीअनुसार रीतपूर्वक पूजा गरी पानी मागेका हौँ ।”

स्थानीयवासीबाट केही गल्ती भएमा भगवान् रिसाएर वर्षा नहुने मान्यताअनुसार ‘क्षमापूजा’ गरी पानी मागिएको शिक्षक विष्णुहरि बडालले बताउनुभयो । “वृद्धवृद्धाका अनुसार क्षमापूजा गरेपछि वर्षा भई बाली लगाउने गरिँदै आइएको रहेछ, उहाँहरुकै सुझावमा रुद्री र क्षमापूजा गरी महादेवसँग पानी मागेका हौँ”, उहाँले भन्नुभयो ।

बडालका अनुसार असार लाग्दैगर्दा मनसुन शुरु भए पनि वर्षा नहँुदा तेमाल क्षेत्रका खेतबारी हालसम्म बाँझो छन् । “वैशाख÷जेठमा वर्षा नहुँदा बारीमा मकै छर्न पाइएन भने असारमा वर्षा नहुँदा खेतमा धान रोपाइँ गर्न पाइएको छैन, यस्तो खडेरीमा पानी माग्ने चलन रहेछ, सोहीअनुसार असारो अन्त्यमा पूजा ग¥यौँ”, उहाँले भन्नुभयो ।

धार्मिक मान्यताअनुसार करीब १०० स्थानीयवासी पूजामा सहभागी थिए । उनीहरुले गाउँमै ७० हजार पिपलको पातमा ‘हरहर महादेव, पानी देऊदेऊ’ र ‘रामराम’ लेखेका थिए भने थप ३० हजार पिपलको पातको व्यवस्था गरी सुनकोशी नदी किनारमा बसेर लेखी सोही नदीमा बगाइएको सामाजिक कार्यकर्ता इन्द्र अधिकारीले जानकारी दिनुभयो । एक दशकअघि नमोबद्ध नगरपालिका भकुण्डेमा वर्षा नहुँदा स्थानीयवासी दाहाल परिवारको अगुवाइमा धार्मिक परम्पराअनुसार नै भ्यागुताको विवाह गरिएको थियो । स्थानीयवासी इन्द्रबहादुर दाहालका अनुसार त्यसताका करीब तीन वर्षदेखि वर्षा नहुँदा भ्यागुताको विवाह गरेपछि वर्षा शुरु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया