गण्डकी प्रदेश सरकारले बाबु आमाका नाममा रहेका प्रतिष्ठानहरूमा बजेट विनियोजन गरेको, सवारी साधनको वार्षिक कर धान्नै नसकिने गरी बढाएको र सवारीको जरिवानामा दुईसय प्रतिशतसम्म वृद्धि गरेको विषयमा सरकार लगातार आलोचित हुँदै आइरहेको छ।
सदनमा पनि लगातार यिनै कुराहरूले ठाउँ पाएपछि प्रतिष्ठानका नाममा छुट्टयाइएको बजेट त अन्य शीर्षकमा लगाउने गरी फिर्ता भयो तर सवारीको कर र जरिवाना भने फिर्ता भएन।
पाँच हजार रुपैयाँ तिरे हुनेले २० हजार र २० हजार तिरे हुनेले एक लाख रुपैयाँसम्म कर र जरिवाना बुझाउनु परेपछि गण्डकी प्रदेशका सरकार खारेजीका आवाजहरू उठिरहेका छन्।
सामाजिक सञ्जालदेखि, सञ्चार माध्यम र चोक–चोकमा पनि कोरोनाका कारण मारमा परेका नागरिक पेट्रोलियम पदार्थको मूल्य वृद्धिले ढाड सेकिएको अवस्थामा प्रदेश सरकारले झनै बेइमानी गरेका कुराहरू उल्लेख छन्।
प्रदेशमा बालकदेखि वृद्धसम्मले प्रदेश सरकारले लागू गरेको नयाँ कर र जरिवानाको विरोध गर्दा त्यसले पार्टीलाई नै असर गरेको भन्दै नेपाल विद्यार्थी सङ्घ कास्कीले मुख्यमन्त्रीलाई कडा चेतावनी दिँदै नाराबाजी गरेको हो।
नाराबाजीपछि भएको कोणसभामा बोल्दै नेविसंघ कास्कीका निवर्तमान सभापति विकास थापाले दुई दिनभित्र सवारी कर र जरिवाना फिर्ता नभएमा श्रीलङ्काको झल्को दिने गरी गेटमा नभई मुख्यमन्त्रीको कोठामा नै प्रवेश गर्ने चेतावनी दिए।
‘गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई म यहीँबाट भन्न चाहन्छु, दुई दिनभित्रमा यो बढाइएको कर र जरिवाना रकम फिर्ता भएन भने, आज त हामी गेटमा छौँ, भोलि हामी श्रीलङ्काको झल्को दिने गरेर तपाइँको कोठामै पस्ने छौँ,’ उनले भने, ‘मुख्यमन्त्री र यहाँका मन्त्रीहरूले कांग्रेसको इज्जत र संस्कारमाथि धावा बोलेका छन्।
यतिसम्म की मुख्यमन्त्रीका पिता गोबर्द्धन शर्मा जस्तो मान्छेको इज्जतमाथि खेलबाड गरेर गलतमाथि गलत काम गरिरहेका छन्। त्यसैले नेविसंघ कास्की आफ्नै सरकारको विरुद्धमा आन्दोलन गर्न बाध्य भएको छ।’
मुख्यमन्त्री, मन्त्रीहरू कहाँ कहाँ जान्छन्, के के गर्छन् भन्ने कुरा हरेक दिन नियाल्ने बताउँदै उनले कहीँनेर पनि गलत गरेको पाएमा त्यहीँबाट गलहत्याउने चेतावनी दिए।
‘मुख्यमन्त्री, मन्त्रीहरू कहाँ कहाँ जान्छन्, के के गर्छन् भन्ने कुरा हरेक दिन नियाल्ने हो, दिनदिनै खेद्ने हो, गलत गरेको पाइए त्यहीँबाट तत्काल गलहत्याउने हो,’ थापाले थपे, ‘कांग्रेसका सभापति शेरबहादुर देउवालाई आग्रह गर्दछु सम्भव छ भने यहाँका मुख्यमन्त्री, अरू मन्त्रीसहित मन्त्रिमण्डल नै फेरियोस्। अन्यथा यिनीहरूले कांग्रेसलाई डुबाउँदै छन्।’