एजेन्सी, २५ असोज । कप्तान विराट कोहलीको सानदार ९० रनमा रोयल च्यालेन्जर्स बेंग्लोरले इन्डियन प्रिमियर लिग (आईपीएल) मा शनिबार चेन्नई सुपर किंग्सलाई ३७ रनले पराजित गरेको छ । बेंग्लोर ६ खेलमा ८ अंकसहित चौथो स्थानमा छ ।
कोहलीले ५२ बल खेल्दै ४ चौका र ४ छक्का प्रहार गरेपछि टस जितेर ब्याटिङ रोजेको बेंग्लोरले दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १६९–४ को स्कोर बनाएको थियो । चेन्नईले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ३२ रनमात्र बनाउन सक्यो । अम्बाती रायडु ४२, नारायण जगदीशनले ३३, शेन वाटसनले १४ रन बनाए । कप्तान महेन्द्रसिंह धोनी १० रनमा आउट भए ।
बेंग्लोरका क्रिस मोरिसले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । वाशिङटन सुन्दरले २ तथा इसुरु उडाना र युजभेन्द्र चाहलले १–१ विकेट लिए । यसअघि बेंग्लोरबाट कोहलीबाहेक देवदत्त पाडिक्कलले ३३ र शिवम दुबेले १४ बलमा अविजित २२ रन बनाएका थिए । चेन्नईका शार्दुल ठाकुरले २ विकेट लिएका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।