काठमाडौँ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी केन्द्रिकृत प्रणालीमा रहेका कर्मचारीहरुलाई संघीय संरचनामा समायोजनको काम सकिएको जानकारी दिएका छन् ।
संघमा ३९ हजार ९६०, प्रदेशमा १३ हजार ८२१ र स्थानीय तहमा ४३ हजार ८०७ कर्मचारी समायोजन भएको कर्मचारी समायोजन महाशाखा प्रमुख केदार पनेरूले बताएका छन् । निजामती कर्मचारीहरुको स्वीकृत दरबन्दी एक लाख ३७ हजार ६ सय १४ छ ।
पत्रकार सम्मेलनमा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भने, ‘ तीन तहैको संगठन संरचना तयार गरेर, कर्मचारीलाई अस्थायी रुपमा खटाएर, कामलाई सकेसम्म अवरोध हुन नदिइकन संविधानले दिइएको अधिकार अनुसार नयाँ ऐन बनाइ कर्मचारी समायोजनको काम आज सम्पन्न भएको छ । ‘
उनले कर्मचारीहरुको समायोजनमा आएको गुनासोलाई यहि महिना भित्र सम्बोधन गर्ने बताउँदै भने, ‘ कतिपय जायज र कतिपय इच्छा लागेका गुनासाहरु आएका छन् । आउने क्रम जारी छ । २० गतेसम्म म्याद छ । जायज गुनासाहरु सम्बोधन गर्छौं । ‘
उनले भने, ‘ विकास निर्माणको कामलाई पनि डिस्टर्ब नहुने गरी लागिरहेका छौं । राष्ट्रसेवकलाई प्रोत्साहित गर्ने र उहाँहरुको वृत्ति विकासमा विकासमा बाधा नहुने गरी पठाउन लागेका छौं । ‘