आज देखि मुग्लिन सडकखण्ड १४ दिन ९ घण्टा बन्द हुने !

फाइल फोटो

काठमाडौँ, पृथ्वीराजमार्ग अन्तर्गतको मुग्लिन सडकखण्ड आंशिक रुपमा बन्द हुने भएको छ । मुग्लिन स्थित त्रिशूली नदीमाथि निर्माण भइरहेको चितवन र तनहुँ जोड्ने आर्कब्रिजको निर्माणकार्य अन्तिम चरणमा रहेको हुँदा बन्द गर्न लागिएको हो ।

पुल योजना मध्यक्षेत्र सेक्टर नम्बर २ ले जारी गरेको सूचना अनुसार वैतर्फको सडकको पर्खाल सतह कटिङ गरी टेवा पर्खाल लगाउने तथा सडक कालोपत्र गर्नुपर्ने भएकाले उक्त सडक खण्ड १४ दिनको लागी बन्द गर्न लागिएको हो ।

उक्त योजना अनुसार जेठ १६ गतेदेखि ३० गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र राति ९ बजेदेखि २ बजेसम्म बन्द गरिनेछ । विविध कारण देखाउँदै समय थप मागेको ठेकेदार कम्पनी एलाइट एड्भेञ्चर लोहनी जेभीले विसं २०७५ को मसान्तमा काम सम्पन्न गर्नुपर्नेमा जेष्ठ मसान्तमा सकाउने भएको छ ।

सात दशमलव पाँच मिटरमा गाडी गुड्ने गरी बनाइएको एक सय ६० मिटर लामो उक्त पुलफुटपाथसहित ११ मिटर चौडा र पुल भाग १२० मिटर रहेको छ ।

आरसिसी मोटरेवल आर्कब्रिज पूरा भए पश्चात मुग्लिन र तनहुँको दुईतर्फी आवागमन सहज हुने अपेक्षा गरिएको छ । यस पुल विश्व बैंकको रु १२ करोड लागतमा निर्माण गर्न लागिएको हो । मुग्लिनको पुरानो पुल जीर्ण र कमजोर भएपछि विसं २०७१ बाट यस आर्कब्रिजको निर्माण शुरु गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया