एजेन्सी, २३ कार्तिक । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेनको जितसँगै उनकी उपराष्ट्रपति पदको उम्मेदवार कमला ह्यारिस पनि सो पदका लागि निर्वाचित हुन पुगेकी छन्। कमला उक्त पदका लागि चुनाव लड्ने पहिलो अश्वेत र एसियन अमेरिकन हुन्।
इन्डियन-जमैकन मूलकी क्यालिफोर्नियाकी सांसद उनले कुनैबेला राष्ट्रपति उम्मेदवारका लागि बाइडेनलाई चुनौती दिएकी थिइन्। राष्ट्रपतिको उम्मेदवार बन्ने दौडबाट पछि हटेपछि पनि सधैँ उनको नाम चर्चामा रहिरह्यो। क्यालिफोर्नियामा महान्यायाधिवक्ता भइसकेकी उनले देशव्यापी रूपमा भएको रङ्गभेदविरुद्धको प्रदर्शनका बीच प्रहरीमा सुधारको आह्वान गरिरहेकी थिइन्।
कमला को हुन्?
५५ वर्षीया कमला ह्यारिस डिसेम्बरमा राष्ट्रपति उम्मेदवारको दौडबाट बाहिरिएकी थिइन्।उनी क्यालिफोर्नियाको ओक्लान्डमा जन्मिएकी हुन्। उनकी आमा भारतमा जन्मिएकी थिइन् भने पिता जमैकामा जन्मेका थिए।
उनले अश्वेत विश्वविद्यालय र कलेज भनेर ऐतिहासिक रूपमा चिनिएको हावर्ड विश्वविद्यालमा अध्ययन गरेकी हुन्। कमलाले आफ्नो पहिचानलाई लिएर सधैँ आफू सन्तुष्ट रहेको बताउने गरेकी छन् र उनले आफूलाई “एक अमेरिकी” भन्ने गर्छिन्।(पहिले प्रकाशित यो समाचार सामग्री अमेरिकी राष्ट्रपतीय निर्वाचनमा जितको प्रक्षेपणपछि ८ नोभेम्बर २०२० आइतबार अध्यावधिक गरिएको हो।) बीबीसी नेपालीबाट







