एमालेले जस्तो झुटा आश्वासन कांग्रेस दिँदैन,तपाईंहरुका झुटा कुरा तोड्नलाई म आउँदैछु

काठमाडौं : नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले काठमाडौं महानगरपालिकाले पहिलो महिला मेयर पाउने दाबी गरेकी छन्।

राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै सिर्जनाले काठमाडौंमा परिस्थिति बदलिएको र कम्युनिस्टको झुटा कुरामा मतदाताले विश्वास नगर्ने बताइन्।

एमाले उम्मेदवार केशव स्थापितले दोब्बर मतले जित्ने दाबी गरेको र गठबन्धन उम्मेदवारले जतिसक्दो कम मत ल्यायो आँकडा त्यसमै दोब्बर ल्याउने दाबी गरेकोमा त्यसमा जवाफ दिँदै सिर्जनाले भनिन्, ‘कसले दोब्बर मतले हराउँछ यो त वैशाख ३० गते देखिहाल्नु हुन्छ। महिला दिदीबहिनीहरु काठमाडौं महानगरले पहिलो महिला मेयर पाउँदैछ भनेर यति धेरै उत्साहित हुनुहुन्छ। वैशाख ३० गते यो देखिन्छ।’

विगतमा झुटको सहारामा कम्युनिस्टले जिते पनि अब काठमाडौंमा परिस्थिति बदलिएको उनको भनाइ छ। ‘उहाँहरु झुटा कुरा गर्न माहिर हुनुहुन्छ। कांग्रेस झुटा आश्वासन दिँदैन। गर्न नसक्ने कुरा गर्छु भन्दैन। सबैले देखिसकेको छ। काठमाडौंमै हेर्नुस् ठूल्ठूलो नाराहरु उहाँहरुले दिनुभयो, तर कति पूरा भयो? सबै खुला किताबजस्तै छ। यो सबै तोड्नलाई म आउँदैछु। सबैजना उत्साहित हुनुहुन्छ। विजयी गराउनुहुन्छ भन्ने विश्वस्त छु,’ उनले भनिन्।

‘म पार्टीको ११औं महाधिवेशनमा प्रतिनिधि थिए। १४औंमा पनि महाधिवेशन प्रतिनिधि छु। महिला संघ काठमाडौंको प्रमुख सल्लाहकार भएर काम गरिरहेको छु। महिला उत्थान र सशक्तिकरणमा लागेको छु।’

फेसबुकबाट तपाईको प्रतिक्रिया