डोटीका विद्यालयमा चाडपर्व बिदा : कतै साता, कतै महीना

१९ असोज, डोटी । चाडपर्वको समय आएसँगै डोटीका विद्यालयहरुमा चाडपर्व बिदाका लागि स्थानीय तहहरुले फरक फरक निर्णय गरेका छन् ।

सात गाउँपालिका र दुई नगरपालिका रहेको जिल्लामा कुनै स्थानीय तहले ६ दिनमात्र बिदा दिने निर्णय गरेका छन भने कसैले एक महीनासम्मै चाडपर्व बिदा राखेका छन् ।डोटी जिल्ला सदरमुकाम रहेको दिपायल सिलगढी नगरपालिकाले दसैँको समयमा घटस्थापनाको दिन (असोज २१) देखि कात्तिक १ गतेसम्म बिदा दिने निर्णय गरेको छ । दिपायल सिलगढीले कात्तिक २ गतेदेखि बिद्यालय सुरु हुने दिपायल जनाएको छ । नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख शंकर बोगटीले तिहारको समयमा नेपाल सरकारको दिएको सार्वजनिक बिदा अनुसार हुने वताए ।

शिखर नगरपालिकाले चाडपर्व बिदाको विषयमा अझै आधिकारिक निर्णय गरिसकेको छैन तर घटस्थापनादेखि कात्तिक दुई गतेसम्म बिदा दिने मनस्थितिमा छ ।‘आधिकारिक निर्णय त भइसकेको छैन’ नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख शेर बहादुर कार्कीले भने, ‘ तर घटस्थापनादेखि असोज २ गतेसम्म बिदा दिने गरि छलफल भइरहेको छ ।’ उनले तिहारको सन्दर्भमा नेपाल सरकारको दिएको सार्वजनिक बिदा अनुसार दिने छलफल भइरहेको बताए । कार्कीका अनुसार मंगलवार बस्ने नगर शिक्षा समितिको बैठकले आधिकारिक निर्णय गर्नेछ ।

डोटीमा सबैभन्दा कम बिदा दिने निर्णय बोगटान फुड्सिल गाउँपालिका र सायल गाउँपालिकाले गरेका छन् । दुई गाउँपालिकाहरुको निर्णय अनुसार फूलपातीको दिन (असोज २६) देखि असोज ३१ गतेसम्म ६ दिन बिदा दिने निर्णय गरेका छन् ।विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण बिद्यालयको पठन पाठन प्रभावित हुँदै आएको र चाडपर्वमा लामो बिदा दिए पढाईमा थप बाधा पर्ने भएकोले बिदा घटाउने निर्णय भएको बोगटान फुड्सिल गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा संयोजक खेम बहादुर साउँदले बताए ।

लामो समयसम्म अवरोध भएको विद्यालयको अध्ययन/अध्यापनलाई नियमित गर्नका लागि बिदा घटाउनु परेको सायल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज सापकोटाले बताए । तिहारको सम्बन्धमा दुवै गाउँपालिकाले नेपाल सरकारको तोके अनुसारको बिदा हुने जनाएका छन् ।दसैँ तिहारमा डोटी जिल्लामा सबैभन्दा बढी बिदा निर्णय केआईसिंह गाउँपालिका र जोरायल गाउँपालिकाले गरेको छ । दुवै गाउँपालिकाले सूचना जारी गर्दै फूलपातीको दिनदेखि कात्तिक २१ गतेसम्म बिदा निर्णय गरेको जोरायल गाउँपालिकाका युवा तथा खेलकुद शाखा प्रमुख तेजबहादुर खत्रीले बताए । दुवै गाउँपालिकाको निर्णय अनुसार २७ दिनसम्म बिदा भएको छ ।

त्यस्तै बडीकेदार गाउँपालिका र पूर्वचौकी गाउँपालिकाले पनि घटस्थापनाको दिनदेखि कात्तिक तीन गतेसम्म दसैँ बिदा दिने निणर्य गरेको छ । पूर्वीचौकी गाउँपालिकाकाले सूचना जारी गर्दै बिदा दिने निर्णय गरेको गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विनोद भट्टले बताए ।दुवै गाउँपालिकामा तिहारको सम्बन्धमा नेपाल सरकारको सार्वजनिक बिदाको नियमानुसार बिदा दिने निर्णय गरेको बडीकेदार गाउँपालिका युवा तथा खेलकुद शाखा प्रमुख विवेक देउवाले बताए ।

डोटीको आदर्श गाउँपालिकाले पनि दसैँको अवसरमा घटस्थापनाको दिनदेखि असोज ३१ गतेसम्म बिदा दिने निर्णय गरिएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख मनु क्षेत्रीले बताइन । तिहारको सन्दर्भमा भने अन्य सरकारी बिदा सरह हुनेछ ।नेपाल सरकारले दसैँको समयमा फूलपातीको दिनदेखि असोज ३० गतेसम्म र तिहारको समयमा लक्ष्मी पूजाको दिन कात्तिक १८ गतेदेखि २१ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ भने बिद्यालयको हकमा अन्य थप निर्णय गरको देखिदैन ।

विगतमा अधिकांश विद्यालयहरु घटस्थापनादेखि छठ पर्वसम्म बन्द हुने गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया