चितवन,असार १ /चितवन मेडिकल कलेजले संसदीय छानबिन चलिरहँदा पनि बढी शुल्क लिएर ठगी गरेको विद्यार्थीले आरोप लगाएका छन् ।
कलेजले ६२ लाखसम्म बढी शुल्क लिएको एमबीबीएस अध्ययनरत विद्यार्थीले गुनासो गरेका छन् ।
शुल्क कै विषयलाई लिएर विद्यार्थीहरु अहिले आन्दोलनमा छन् ।
कलेज प्रशासनले माग सम्बोधन गर्ने आश्वासन दिएका कारण पाँच गतेसम्म विद्यार्थीले आन्दोलन स्थगित गरेका छन् ।
संसदीय समितिका संयोजक तथा सांसद सुरेशकुमार राईले अनुगमनमा जाँदा चितवन मेडिकल कलेजमा बदमासी भेटिएको बताउनुभयो ।
‘कलेजहरूको स्थलगत अनुगमन गरिरहेका छौं,’ उहाँले भन्नुभयो ‘छिट्टै शुल्क कार्यान्वयन गर्न र मेडिकल कलेजको बेथिति रोक्न सरकारलाई निर्देशन दिन्छौं ।’
एमबीबीएस, बीडीएस, स्टाफ नर्सलगायत चिकित्सा शिक्षासम्बन्धी विषयमा चितवन मेडिकल कलेजले तोकेभन्दा अचाक्ली बढी शुल्क लिने गरेको अभिभावकको भनाइ छ ।
सिएमसीको शुल्क सिटमा ६२ लाख सम्म बुझाउनुपर्ने उल्लेख छ ।
‘४५ लाख बुझाइसकेँ, अझै दुई वर्ष पढ्न बाँकी छ, मागेजति पैसा नबुझाए कलेज सञ्चालक र कर्मचारीले घरमा बुबाआमालाई समेत तनाव दिन्छन,’ ती विद्यार्थीले भने ।
चितवन मेडिकल कलेज प्रशासन भने यस बिषयमा केही बोल्न चाहाँदैन् ।






