काठमाडौँ, देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको दक्षिण गेट नजिकबाट प्रहरीले एक दम्पतिलाई पक्राउ गरेको छ । गृह मन्त्रालयको नक्कली लेटरप्याड बनाइ प्रवक्ता रामकृष्ण सुवेदीको हस्ताक्षरसमेत किर्ते गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काभ्रे धुलिखेल बस्ने बारा निजगढ घर भएकी ३३ वर्षीया लक्ष्मी अधिकारी र उनका श्रीमान् ३८ वर्षीय राजनकुमार थापा रहेका छन् । उनीहरु सरकारी छाप र दस्तखत किर्ते गर्ने कार्यमा संलग्न रहेको खुलेको छ ।
महानगरिय प्रहरी वृत्त सिंहदरबारबाट उक्त स्थानमा सरकारी छाप र दस्तखत किर्ते गर्ने व्यक्ति रहेको भन्ने सूचनाको आधारमा प्रहरी खटाइएको थियो । उक्त कार्यमा खटिएका प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई शरीर खानतलासी गर्दा सरकारी छाप र दस्तखत किर्ते गरेको कागजात फेला परेको हो ।
त्यसैगरी उनीहरुको साथमा गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीको नक्कली हस्ताक्षर रहेको मन्त्रालयको नक्कली लेटर प्याड फेला पारिएको छ । उनीहरुको साथबाट अधिकारीको बुबाको मृत्यु नेपाल सरकारको कारण भएकाले क्षतिपूर्ति स्वरूप रु ९५ करोड दिने निर्णय भएको र थप रु ८ करोड ७६ लाख दिने उल्लेख गरिएको किर्ते कागज, १३ थान बैंकको चेक, विभिन्न व्यक्तिको राहदानी तथा नगद रु ४२ हजार २१० बरामद गरिएको छ ।
घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।







