काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सोमबार महँगी, भ्रष्टाचार र बेथितिविरुद्ध जनप्रदर्शन गर्ने तयारी केहीदिन अगाडि नै गरेको थियो । काठमाडौंको बसन्तपुरबाट सुरू गर्ने जनप्रदर्शन शान्तिबाटिकासम्म पुग्ने तयारी थियो ।
पूर्वतयारी अनुसार उपत्यकाका तीन वटै जिल्ला, उपत्यका विशेष प्रदेश कमिटी, जनसंगठन, सम्पर्क समन्वय कमिटी, केन्द्रीय निकाय लगायतले जनप्रदर्शनमा कार्यकर्ता उतारे । बसन्तपुरबाट जनप्रदर्शन सुरू भयो । झमझम पानी परिरहेकाले सहभागीहरू छाता र रेनकोटमा प्रदर्शनमा भाग लिए ।
बसन्तपुरबाट सुरू भएको प्रदर्शन नरदेवी, टंगाल, बांगेमुढा, असन, भोटाहिटी हुँदै शान्तिबाटिकासम्म पुग्यो । लगातारको वर्षामा भिज्दै प्रदर्शनमा निस्किएका कार्यकर्ताहरूले पार्टीका शिर्ष नेताहरू भने भेट्टाएनन ।
जनप्रदर्शनलाई पार्टी महासचिव शंकर पोखरेल उपस्थित थिए र उनैले सम्बोधन पनि गरे । संवोधनमा महासचिव पोखरेलले मुलुक श्रीलंकाको बाटोमा रहेकाले खबरदारी आवश्यक रहेको बताए । चर्का चर्का भाषण समेत गरे । सरकार जनताको नभएर माफियाको भएको समेत बताए ।
तर ४ साउनमा तय भएको पूर्वनिर्धारित जनप्रदर्शनमा कार्यकर्ताले अपेक्षा गरे अनुसार पार्टीका शिर्ष नेताहरू भेटिएनन । अध्यक्ष केपी शर्मा ओली भने सहभागी हुने कार्यकर्तामा आशा थियो ।
जनप्रदर्शन सकियो त्यसको केही समयमा अध्यक्ष ओली एक पुस्तक विमोचन कार्यक्रममा पुगे । उनले त्यहाँ आफूले सत्ता छोड्नुपर्नाका कारणहरू सप्रसंग व्याख्या गरे । नेपालको पानी विश्वलाई पुग्ने भन्दै सदुपयोग नभएको बताए । त्यही विचमा एउटा समाचार सार्वजनिक भयो- अध्यक्ष ओली पशुपतिनाथको मन्दिरमा उपस्थित हुँदैछन् । त्यो पनि साउन महिनाको सोमबार हुने विशेष आरति हेर्न । एकातिर पार्टीको जनप्रदर्शनमा नगएका ओली पशुपतिमा जाँदै गरेको खबरले कार्यकर्ता निरास बने ।







