दुर्गम गाउँका १०५ वर्षीय पनाजु पुर्जा, बुढ्यौलीलाई जितेर यसरी काम गर्छन्

गाउँ परको खोरियामा बुट्यान र झाडीलाई छिचोल्दै निगालो काटेर भारी बाँध्छन् । निगालो काट्दा, भारी बाँध्दा र थकाइ मेटाउँदा करिब तीन घण्टा बित्छ । भारी बोकेर विस्तारै गाउँतिर झर्छन् र घरमा पुगेर भारी बिसाएपछि आँगनमा रहेको ठूलो लाम्चो ढुङ्गामा एक छिन सुस्ताएपछि खाना खान घरभित्र पस्छन् । दिनभर जङ्गलबाट ल्याएको निगालोको चोया बनाउन सुरु गर्छन् ।

पुर्जाले चोयाबाट भकारी, मान्द्रो, डोकोलगायत घरायसी कृषि सामग्रीहरु बुनेर उनले बुढ्यौलीलाई भुलाइरहेका मात्र छैनन् केही आम्दानी पनि गरिरहेका नाति होमबहादुर बताउँछन्। पुर्जाको दैनिकी देखेर यहाँ पुग्ने पर्यटकहरुले उनको तस्वीर लिन्छन् । उपहार दिन्छन् र उनको प्रशंसासहित सुस्वास्थ्यको कामना गर्ने गर्छन् ।

बिहानको खानामा उनले सधैँ कोदो, मकै, गहुँ, जौको पीठोबाट बनाइएको ढिँडो उनको आहारा हो । ढिँडोसँगै उनलाई गेडागुडीको झोल र मोही अनिवार्य चाहिने पुर्जाका नाति होमबहादुर पुर्जाले बताए । पुर्जा अझै पनि उकालो बाटो ठमठम हिँडेर जङ्गल र गाउँ बेँसीमा गर्छन् । उनी एकछिन पनि बेफुर्सद हुन चाहन्‍न् ।

१०५ वर्षीय पनाजु भन्छन्, ‘उमेर ढल्के पनि अझ धेरै बाँचुम्-बाचुम् लाग्दो रै छ ।’ उमेरले ६० वसन्त पार गरेपछि मानिसहरु बुढ्यौली लाग्यो भनेर आफूले गर्दै आएका कामप्रति रुचि घटाउँछन् र विस्तारै निष्क्रिय जीवनतिर लाग्छन् । तर, उनले आफ्नो बुढ्यौलीलाई जितेर ढिकीजाँतो, मेलापात गर्नाका साथै वनजङ्गलबाट निगाला ल्याई घरायसी कृषि सामग्रीहरु बनाउने काममा व्यस्त रहन्छन् ।

आफूलाई भेट्न आएका मानिससँग कुरा गर्दै काम गरिरहने पुर्जा कसैसँग कहिल्यै पनि नरिसाउने र रुखो नबोल्ने त्यसै गाउँका देवान छन्त्यालको भनाइ छ । उनलाई आफ्नो जीवन गोठ, जङ्गल र खर्कमा नै बितेकाले यसैमा आनन्द लाग्दछ । नाति होमबहादुरले भने, ‘नपुग्दो केही छैन, सबै चीज छ । तर हातखुट्टा चलुन्जेलसम्म काम गर्न छोड्नु हुँदैन भनेर काम गरिरहन्छन् ।

उनलाई अहिलेसम्म सामान्य रुघाखोकीबाहेक अरू जटिल कुनै रोग छैन । पछिल्लो समय कान अलि कम सुन्ने गरेका उनलाई अरू कुनै स्वास्थ्य समस्या छैन । उनी भन्छन्, ‘जहिलेसम्म शरीर चल्छ, त्यतिबेलासम्म काम गर्न छोड्दिन, शरीर चल्नै छोड्यो भने त के गरी काम गर्ने हो र ?’ कहिलेकाहीँ अलि दम बढेको जस्तो भयो भने उनी आफैँ जङ्गली लहरालाई थिचेर झोल बनाई पिउने गर्छन् ।

गत जेठदेखि १०५ वर्षमा प्रवेश गरेका पनाजुको बालापन, युवावस्था र ८५ वर्षसम्मको वृद्धवय गाई भैँसीसँग गोठ बसेर धवलागिरि हिमालको फेदीमा रहेका खर्कहरुमा बित्यो । जङ्गली कन्दमूल, आँटो पीठो र दूध, दही, घीउ खाएको तन्दुरुस्त जीउ भएका पुर्जाको अनुहार चाउरिएर बुढ्यौलीको परिचय दिए पनि उनको जोस, मिजासिलो स्वभाव, हँसिलो व्यक्तित्व र जाँगरिलो आनीबानीले युवापनको आभास दिलाइरहने उनलाई चिन्नेहरु बताउँछन् । ८५ वर्षको उमेरसम्म खादीका कपडा मात्रै लगाएका पुर्जाले अहिले भने छोरा नातिले ल्याइदिएका न्याना कपडा लगाउने गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया