काठमाडौं । त्रिभुवन विमानस्थलको सूचना प्रणाली तथा राडारमा आएको खराबीका कारण बिहीबार बिहानैबाट आन्तरिक तथा बाहृय दुवै तर्फका उडान प्रभावित बनेका छन् । जसले गर्दा आज बिहानका लागि निर्धारित विभिन्न सेक्टरका उडान रद्द भएका छन् । यति एयरलाइन्सका अनुसार पोखरा, भैरहवा र विराटनगरका लागि निर्धारित तीन उडान रद्द भइसकेको छ । अन्य उडानहरू डिले भएको छ ।
अहिले त्रिभुवन विमानस्थलले प्रत्येक १५ मिनेटमा एक उडान वा अवतरण गर्न सकिने गरी प्रणाली चलाइरहेको छ । सामान्य अवस्थामा २-३ मिनेटकै अन्तरमा उडान/अवतरण हुने गर्छ । संचार उपकरण भएको विल्डिङमा पानी लिकेज भएर प्रणालीहरुमा खराबी आएको बताइएको छ ।विमानस्थलमा समस्या आएपछि बिहीबार बिहानै प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितको टोलीले अनुगमनसमेत गरेको छ ।
उता वायुसेवा कम्पनीहरूले भने जहाज उडानमा ढिलाइले उडानहरू प्रभावित भएको भन्दै यात्रुलाई फोन गरेर निर्धारित समयमा मात्र विमानस्थलमा जान अनुरोध गरेका छन् । यति एयरलाइन्सले ०१-५९७००७४ मा फोन गर्न भनेको छ ।







