बाँके, १८ कात्तिक | भूमिहीन, सुकुम्बासी र मुक्त कमैयाहरुको समस्या आयोग गठन गरी माग पूरा गर्न माग गरिएको छ । भूमि अधिकार मञ्च बर्दियाले आज गुलरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बर्दियामा भूमिहीन, सुकुम्बासी र मुक्त कमैयाहरुले आफ्ना समस्या समाधान गर्न सरकारले बेवास्ता गरेको गुनासो गरेका छन् ।
पत्रकार सम्मेलनमा बोल्ने अधिकांश भूमिहीन नागरिकले वर्षौंदेखि जोतभोग गर्दै आएको जमीनको जग्गा लालपूर्जा, वा बसोवास गरेको कुनै प्रमाणपत्र नपाएको बताएका छन् । मञ्चले भूमि समस्या समाधान गर्न तत्काल जिल्लास्तरीय भूमि समस्यासम्बन्धी आयोगको समिति गठन गर्न र सुकुम्बासी, भूमिहीनहरुलाई उनीहरुले भोगचलन गर्दै आएको जग्गाको लालपूर्जा दिन सरकारसँग माग गरेको छ ।
बढैयाताल गाउँपालिका—९ का पल्टुराम थारुले दलले भूमिहीनहरुको समस्यालाई राजनीतिक एजेण्डा बनाएर राजनीति मात्रै गरेको आरोप लगाउनुभयो । कोरोनाको त्रासमा सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेपनि भूमिहीनको मुद्दामा चासो नदिएको भन्दै गुलरिया नगरपालिका—९ का लक्ष्मण विकले सरकारले भूमिहीनहरुको घरगोठ भत्काएको गुनासो गर्नुभयो ।







