चितवन, २२ साउन/पूर्वी चितवनको राप्ती नगरपालिका–२ पिप्लेमा आज दुई वटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१ बस्ने २१ वर्षीय सञ्जय कँडेल रहेका छन् ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना४०प १५८३ नंको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको ना३४प ७१६८ नंको मोटरसाइकल एकापसमा ठक्कर खाएको थियो ।
दुर्घटनामा घाइते ना४०प १५८३ नंको मोटरसाइकल चालक कँडेलको उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
अर्का मोटरसाइकल चालक खैरहनी नगरपालिका–६ का ४८ वर्षीय शिवनारायण चौधरी घाइते हुनुभएको छ ।
चौधरीको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । अवस्था खतरामुक्त रहेको र दुवै मोटरसाइकल नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
सिञ्जा राजमार्गलाई रु ३० करोड
जुम्ला प्रदेशसभा (ख) का सदस्य पदमबहादुर रोकायाले नाग्म गमगडी (सिञ्जा) राजमार्गका लागि प्रदेश सरकारले रु ३० करोड विनियोजन गरिएको बताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ जुम्लाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सिञ्जा, कनकासुनदरी, हिमा र तिला गाउँपालिकाका लागि प्रदेश सरकारको ८५ वटा योजना रहेको जानकारी दिनुभयो ।
यो निर्वाचन क्षेत्रमा सिञ्जामा खस सङ्ग्रहालय, पाण्डव गुफा, केदारनाथ मन्दिर रहेको उल्लेख गर्दै सांसद रोकायाले नेपाली खस सभ्यताको उद्गमस्थल सिञ्जामा खस सम्मेलनसमेत हुने जानकारी दिनुभयो । सडक, पर्यटन, कृषि, सिँचाइ, तटबन्ध, विद्यालय, हेलिप्याड निर्माणलगायतका योजना र भइरहेका कामको बारेमा पनि उहाँले जानकारी दिनुभयो ।
डिजेल प्लान्टबाट बत्ती
विगत २१ दिनदेखि अँध्यारोमा रहेका जुम्ला सदरमुकाममा डिजेल प्लान्टबाट बिजुली बलेको छ । प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतले निर्वाचन क्षेत्र विकास कार्यक्रमको सहयोगमा जुम्ला सदरमुकाममा डिजेल प्लान्टबाट अल्पकालीनरुपमा बत्ती बालिएको हो ।
महतले निर्वाचन क्षेत्र विकास कार्यक्रमको रु ५० लाख डिजेल प्लान्टमा विनियोजन गर्ने भनेपछि रु २४ लाख ६० हजारको खर्चमा डिजेलप्लान्ट खरीद गरी सञ्चालनमा ल्याइएको साना जलविद्युत् उपभोक्ता समिति जुम्लाका अध्यक्ष विष्णुबहादुर बुढ्थापाले जानकारी दिनुभयो ।
बत्ती बलेपछि स्थानीयवासी खुशी भएका छन् । बत्ती बलेपछि यहाँका दैनिक पत्रिकासमेत सञ्चालनमा आएका छन् । विद्यार्थीलाई पढ्न, मोबाइल तथा सञ्चार सामग्री चार्जर गर्न सजिलो भएको छ ।







