इटहरी / सुन्सरीको सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछी खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ । विगत ४ दिनदेखि परेको अविरल वर्षाले नदीमा पानीको बहाव बढेको हो ।
कोशीव्यारेज कनट्रोल रुमले सप्तकोशीमा शुक्रबार बिहान ७ बजे पानीको बहाव प्रतिसेकण्ड १ लाख ६५ हजार ७२० क्युसेक पुगेको जनाएको छ जुन बहाव अघिल्ला दिनको तुलनामा बढी हो ।
हरेक घण्टैपिच्छे पानीको बहाव बढ्दै गएको छ। पानीको बहाव बढेसँगै ५६ वटा ढोकामध्ये २२ वटा ढोका खुल्ला गरिएको छ ।
पानीको बहाव बढने क्रम निरन्तर भएकाले गर्दा आवश्यकता अनुसार थप ढोका खोलिने स्थानीय प्रशासनले जनाएको छ।
सप्तकोशीमा पानीको बहाव बढेपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।







