ईण्डो प्यासिफिक र नेपाल,

चक्र प्रसाद ढुंगाना,

काठमाडौं,असार २०,आज भोली ट्र्रम्प, मोदी वा अष्ट्र्रेलियाका प्रधानमन्त्रिहरु ईण्डो प्यासिफिक भन्ने शव्दलाई बढि उच्चारण गरिरहेका छन् । नेपालमा पनि यो शव्दले राम्रै वहश जन्माएको छ । दोस्रो विश्व युद्ध पश्चातको शितयुद्ध कालिन विश्वमा सोभियत रुस र उसका घटकहरुलाई निश्चित घेरामा राख्न तत्कालिन अमेरिकी राष्ट्र्रपति ट्र्रुमनले कन्टेन्मेन्ट नीति लागु गरेका थिए । आज भोली पनि सोही घटनालाई सम्झाउने गरी चीन घेराउ नीतिमा ईण्डो प्यासिफिक एक औजारका रुपमा प्रयोग गर्ने प्रयास गरिएको छ । नेपालको जिओ स्ट्रटेजीक महत्वका कारणले यसलाई पनि यस राणनीतिमा जवरजस्ती रुपमा घिसार्दै लगेको देखिन्छ । यसै सन्दर्भमा ईण्डो प्यासिफिक रणनीति के हो र यसको नेपालमा के महत्व छ भन्ने विषयलाई यस आलेख मा विवेचना गर्ने प्रयास गरिएको छ ।

सर्व प्रथम ईण्डो प्यासिफिक भनेको के हो भन्ने तर्फ विचार गरौ । यस शव्दलाई कहिलेकाँही ईण्डो वेष्ट प्यासिफिक अथवा ईण्डो प्यासिफिक एसिया पनि भन्ने गरिन्छ । यो पृथ्विीको एक जैवभौगोलिक क्षेत्र हो । यसले हिन्द महासागरको उष्ण पानी, मध्य तथा पश्चिमी प्रशान्त महासागरिय क्षेत्र र यि दुई विशाल जल क्षेत्रलाई जोड्ने ईण्डोनेशियाको समग्र क्षेत्र ईण्डो प्यासिफिक क्षेत्रमा पर्दछ । खास गरी यस क्षेत्रले दक्षिण पुर्वि एसिया देखि दक्षिण एसिया तथा पुर्वि अफ्रिका र दक्षिणमा अष्ट्र्रेलियासम्मको समग्र जल तथा स्थल क्षेत्र र त्यँहा बसोवास गर्ने सम्पुर्ण जनसंख्यालाई जनाउँदछ ।

अमेरिकाको लागि यो शव्दले मनोबैज्ञानिक मुल्य बोकेको छ । एसियालाई प्रशान्त महासागर सम्म जोड्ने पहिल्यै देखि प्रचलित शव्द हो एसिया प्रशान्त । तर यस शव्दलाई अव अमेरिका परितर्वन गर्न चाहन्छ । एसियामा चीनको दवदवा बढ्दै जानाले एसिया प्रशान्त भन्ने शव्दले चीनको प्रभुत्वलाई अझ बढी महत्व दिने र अमेरिकाको महत्व घटाउने भन्ने अमेरिकी मानसिकता रहेको पाईन्छ । त्यसैले एसिया प्रशान्तको स्थानमा अव ईण्डो प्यासिफिक भन्ने तर्फ अमेरिकनको बढी रुचि देखिएको छ । त्यसैले अमेरिकाले यस शव्दलाई धेरै नै प्रचार प्रसारमा ल्याएको छ । व्यापारिक विज्ञापनको शैलीमा दिनानुदिन यस शव्दको मार्केटिंग चलिरहेको छ ।

अमेरिकाको प्रतिरक्षा विभागले जुन १, २०१९ मा एक रिपोर्ट सार्वजनिक गर्यो । जसमा स्पष्ट रुपमा Indo-Pacific Report preparedness, partnership and promoting a networked region लेखिएको छ । यस्तो रिपोर्ट २०१७ देखि निरन्तर रुपमा प्रकाशित भई रहेको छ । उक्त रिपोर्टमा ईण्डो प्यासिफिक रणानीतिलाई अमेरिकाको उक्त विभागको प्रमुख प्राथमिकता को रुपमा उल्लेख गरिएको छ । त्यहि रिपोर्टले अमेरिका एक प्रशान्त क्षेत्रको देश भएको र उसको यस ईण्डो प्यासिफिक क्षेत्रका देशहरुसंगको ऐतिहासिक, भौगोलिक, सांस्कृतिक तथा वैचारिक अन्तरसम्बन्धका कारणले अमेरिका यि क्षेत्रका मित्रहरुसँग गहिरो सम्बन्ध राखेको र राख्न चाहेको कुरा उल्लेख गरिएको छ ।
उक्त रिपोर्ट मा चीनको नीतिहरुको प्रस्ट शव्दमा आलोचना गरिएको छ ।

यस क्षेत्रको महत्व दिनानुदिन बढ्दै गएको र यस जलक्षेत्रमा प्रतिस्पर्धि विश्व अर्डरको स्थापना गर्ने प्रयास भएको अमेरिकाको बुझाई छ । स्पष्ट शव्दमा नै त्यस रिपोर्टले चिनियाँ कम्युनिष्ट पार्टिको जनबादी गणतन्त्र चिनले यस क्षेत्रको विश्वव्यापि स्वतन्त्र नाभिगेशन अधिकारको मान्यतालाई आँच आउने गरी सैनिक अभ्यासहरु बढाउदै लगेको र अन्य साना देशहरुको अर्थतन्त्रलाई कव्जा गर्दै नयाँ विश्व व्यवस्था तर्फ लैजान खोजेको जनाएको छ । यसको अर्थ चीन यस क्षेत्रमा प्रवेश गर्दै जाँदा अमेरिकाले आफ्नो परम्परागत व्यवस्थामा संकट आएको देख्न थालेको पाईन्छ । यस क्षेत्रका देशहरुमा चिनको लगानी बढ्दै जानु, चिनियाँ सैन्य अभ्यास बढ्नु जस्ता गतिविधिहरु अमेकारिकाको लागि प्रत्यक्ष चुनौति रहेको अमेकारिकाले सार्वजनिक रुपमा नै स्विकार गरेको छ । त्यसैले एसिया प्यासिफिकको स्थानमा अव अमेरिका ईण्डो प्यासिफिक शव्द प्रयोग गर्दै चिनलाई अघि बढ्नबाट रोक्ने प्रयास गर्दे छ ।

उक्त रिपोर्टले अगाडि भनेको छ कि अमेरिकाको भविश्यका लागि ईण्डो प्यासिफिक क्षेत्र नै एकमात्र महत्वको क्षेत्र हो । यो क्षेत्र अमेरिकाको पश्चिम तटबाट फैलिएर ईण्डियाको पश्चिम तट सम्म फैलिएको यो क्षेत्र संसारको सर्वाधिक जनसंख्याको देश चीन, सर्वाधिक ठुलो लोकतन्त्र भएके देश भारत र सर्वाधिक ठुलो मुस्लिम जनसंख्याको देश ईण्डोनेशियाको क्षेत्र पनि हो । संसारको १० ठुला सैन्य शक्ति मध्ये ७ शक्तिहरु यसै क्षेत्रमा पर्दछन् । अमेरिका, चिन, रुस, उत्तर कोरिया, भारत र पाकिस्तान परमाणु शक्ति सम्पन्न छन् । संसारका १० अधिक व्यस्त सामुन्द्रिक बन्दरगाहहरु मध्ये ९ बटा बन्दरगाहहरु यसै क्षेत्रमा पर्दछन् । संसारको कुल सामुद्रिक व्यपार मध्ये ६० प्रतिशत व्यापार यसै क्षेत्रबाट हुने गरेको छ । दक्षिण चिन सागरबाट मात्रै संसारको एक तिहाई जहाजहरु सयल गर्दछन् । हवाई, क्याफिोर्निया, वासिंगटन, ओरेगन र अलास्का अमेरिकाका प्यासिफिक क्षेत्रमा पर्ने ५ वटा राज्यहरु हुन् । त्यसैले अमेरिकाको यस क्षेत्रमा ठुलो रणनीतिक चाख रहेको छ । उक्त रिपोर्टले भारतलाई रणनीतिक पार्टनरका रुपमा उल्लेख गरेको छ ।

ईण्डो प्यासिफिक शव्दको उत्पत्ति तर्फ विचार गर्दा यो शव्द निक्कै पुरानो शव्द हो । यसको पहिलो प्रयोग जर्मन भुराजनीतिक विज्ञ कार्ल हाउसफरले १९२० को दशकमा उनको Indopazifischen Raum भन्ने कृतिमा गरेका थिए । जसको अर्थ नेपालीमा ईण्डो प्यासिफिक क्षेत्र भन्ने हुन्छ । तत् पश्चात यस शव्दले खासै चर्चा पाएन । तर २००० को दशकमा आएर दुई विसाल महासागरहरुको विचमा सुरक्षालाई एक चिन्ताको विषयका रुपमा लिन थालियो । यसै सेरोफेरोमा भारतका जलसेनाका एक अधिकृत गुरप्रित खुरानाले २००७ मा एक लेख प्रकाशन गर्दै यस शव्दलाई भारत जापान सहकार्य र समुन्द्रको सुरक्षा विषयमा प्रथम पटक प्रयोग गरेको देखिन्छ । यसै विषयबाट जापानले यस क्षेत्रलाई अपनत्व लिने प्रयास गरेको देखिन्छ ।
अगष्ट २००७ मा जापानी प्रधानमन्त्री सिन्जो अवेले भारतको भ्रमण गरे । उनले भारतको संसदलाई सम्बोधन गर्दै उनले ईण्डो प्यासिफिकमा जोड दिनु पर्ने कुरा उल्लेख गरे । यसरी सार्वजनिक रुपमा नै ईण्डो प्यासिफिकको महत्व बढ्न थाल्यो । २०१७ मा मोदिको अमेरिका भ्रमणका समयमा जारी गरिएको संयुक्त प्रेस विज्ञप्तीमा ईण्डो प्यासिफिक क्षेत्रको विकास, शान्ति र स्थायित्वका लागि अमेरिकी राष्ट्र्रपति र भारतिय प्रधानमन्त्रिका विचमा सहमति कायम भएको कुरा उल्लेख गरियो ।

भारतको अमेरिकासँगको गठबन्धनले चिनलाई यस क्षेत्रमा रोक्ने मनसाय राखेको भए तापनि भारतले अन्तराष्ट्र्रिय मन्चहरुमा कहिकतै चिनको विरुद्धमा बोलेको देखिदैन । अमेरिकाले स्पष्ट रुपमा चिनलाई ईण्डो प्यासिफिक क्षेत्रमा नियन्त्रण गर्ने उदेश्यका साथ ईण्डो प्यासिफिक क्षेत्रको उद्घोषण गरे पनि भारतले प्रत्यक्ष रुपमा त्यसलाई चिनको विरुद्धमा हुने भन्ने कुरालाई नकार्दै वा कम महत्व दिदै आएको छ । यस क्षेत्रमा भारत परम्परागत शक्ति हो । उसले क्वाड मार्फत जापान, अष्ट्र्रेलिया र अमेरिकासंग पनि एक रणनीतिक गठबन्धन कायम गरेको छ । तर उसले चिनको प्रत्यक्ष विरोध गरको देखिदैन । यसमा भारतिय कुटनिति अत्यन्त चलाख देखिएको छ ।

२०१८ को जुनमा सिंगापुरमा भएको सांग्रिला डाईलगमा भारतिय प्रधानमन्त्रि नरेन्द्र मोदिले ईण्डो प्यासिफिक एक प्राकृतिक क्षेत्र भएको, विश्वका अत्यन्त भयावह चुनौतिहरु र अवसरहरु यस क्षेत्रमा रहेको र आसियनका १० सदस्य राष्ट्रहरु यस क्षेत्रको केन्द्र विन्दुमा रहेको विचार व्यक्त गरे । त्यस्तै उनले ईण्डो प्यासिफिकलाई भारतले कहिल्यै पनि रणनीतिका रुपमा नलिने र यसलाई सिमित देशहरुको एक क्लवका रुपमा पनि नलिने विचार व्यक्त गरे । यसलाई न त कुनै क्षेत्रलाई दमन गर्ने औजारका रुपमा नै लिईनेछ । यसलाई कुनै पनि देश विरुद्धको रणनीतिका रुपमा नलिईने उनले सप्ष्ट पारे । यसलाई भारतले विशुद्ध भौगोलिक क्षेत्रका रुपमा लिने विचार व्यक्त गरेकाले भारतले चिनका विरुद्धमा यसको प्रयोग नहुने आश्वस्तता तुल्याउन प्रयास गरेको देखिन्छ । अर्थात चिनको विरुद्धमा गई अमेरिकाको एक आज्ञापालकका रुपमा भारत नरहने विचार भारतबाट बेला बेलामा आउने गरेको छ ।

हालै अमेरिकी विदेश मन्त्रि माईक पम्पियोको भारत भ्रमणका क्रममा भारतका विदेश मन्त्रि एस जयशंकरले ईण्डो प्यासिफिक कसैको विरुद्धमा होईन बरु यो केशी विशेष काममा लागि हो र त्यस्तो विशेष काम भनेको क्षेत्रको शान्ति, सुरक्षा, स्थायित्व, सम्वृद्धि र नियमको प्रबर्धन गर्नु हो भन्ने विचार राखेबाट भारतले यस रणनीतिबाट चिन घेराउ गर्ने अमेरिकी रणनीतिको प्रत्यक्ष मोहोरा बन्न अस्विकार गर्दै आएको अवस्था देखिन्छ । अर्थात भारत यो रणनीतिलाई चिनका विरुद्धमा रहेको देख्दछ र बारम्बार चिनलाई फकाउने प्रयास गर्दै छ ।
यसै विचमा अमेरिकाको स्टेट डिपार्टमेन्टबाट प्रकाशित रिपोर्टमा नेपाललाई पनि उक्त रणनीतिमा समेटिएको उल्लेख गरेको छ । नेपालको परराष्ट्र्र मन्त्रिलाई अमेरिका बोलाउनु र रिपार्टमा नेपाल पर्नुले नेपाललाई पनि यस रणनीतिका अमेरिका लपेट्दै गरेको देखिन्छ । तथापि नेपालले भने मौखिक नै भए पनि नेपाल ईण्डो प्यासिफिक रणनीतिको साझेदार नरहेको उल्लेख गर्देै आएको छ ।
नेपालको भुराजनीतिक अवस्थाका कारण अमेरिका यसलाई पनि आफ्नो रणनीतिमा सामेल गर्न चाहन्छ । तथापि नेपाल हाल सम्म कुनै सैनिक रणनीतिको सदस्य नरहेको, असंलग्नताको पक्षमा रहेको तथा चिनको असल मित्र पनि रहेको अवस्थामा नेपाल यस ग्राण्ड रणनीतिका सामेल हुनु अत्यन्त घातक हुन जानेछ । किनकी भारत जस्तो विशाल र प्रतिस्पर्धि देशले त यस रणनीतिलाई ह्रदय देखिनै सम्हाल्न सकेको देखिदैन । आजको विश्वमा चिनलाई पन्छाएर एक पक्षि रुपमा अमेरिकाको पक्षमा मात्र लाग्नु ठुलो दोष हुने छ । गुण र दोषका आधारमा मात्र नेपाल जस्ता संबेदनशिल देशले आफ्नो राष्ट्र्रियता जोगाउन सक्नेछन् ।

मुलुकको अस्तित्वका लागि असल छिमेकि आवश्यक हुुन्छ । हाम्रा निकट छिमेकिहरु निक्कै कम छन् । यिनै छिमेकिलाई चिढ्याएर नेपालले सम्वृद्धि र सार्वभौमिक समानता प्राप्त गर्न सक्दैन । त्यसैले नेपालले होसियारी साथ परराष्ट्र्र नीति संचालन गर्नु जरुरी छ ।

लेखक : चक्र प्रसाद ढुंगाना
बेईजिंग नर्मल विश्वविद्यालयबाट स्नातकोत्तर हुनु हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया