संघीय संसदको अवस्था : नजिकिँदै सभामुख, टाढिँदै प्रतिपक्ष

काठमाडौँ / प्रतिनिधि सभा पुनःस्थापित भएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को निरन्तरको अ’वरोधले संसदले गति लिन सकेको छैन।जनप्रतिनिधिमूलक सर्वोच्च संस्था सदनमा सांसदले जनजीविकाका विषय उठान गर्न पाएका छैनन् भने सरकारले पनि विधेयक प्रस्तुत गर्न सकिरहेको छैन। यसले जनताका सवाल ओझेलमा परेका छन्।

जनसंघर्षबाट प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी प्रणालीलगायत महत्वपूर्ण उपलब्धिलाई संस्थागत गर्ने विधेयकले संसदबाट पूर्णता पाउन नसकेको बताइएको छ। संघीय संसदको नवौं अधिवेशन पनि एमालेको अवरोधका कारण नियमित कामकारबाही प्रभावित रह्यो। यद्यपि, प्रतिपक्षीको अवरोधबीच संसदले केही महत्वपूर्ण निर्णय लिएको छ।

संघीय संसदको दसौं अधिवेशन गत मंसिर २८ गतेदेखि सुरू भएको छ।विधेयक अधिवेशनका रूपमा रहेको चालु अधिवेशन निर्वाध रूपमा चल्ने संकेत देखिएको छैन। चालु अधिवेशनको दुई बैठकमा पनि एमालेको अवरोध कायम रह्यो। अवरोधका बीच पनि संसद कार्यसूचीमा प्रवेश गरेको छ।

संसदमा देखिएको अवरोध हटाउन सरकार र सभामुखले पहलकदमी लिए पनि त्यसले सार्थक रूप लिन सकेको छैन। संसदको सबभन्दा ठूलो दल एमालेले संसदलाई प्रभावकारी बनाउन सभामुख तथा सरकारले बोलाएको सर्वदलीय बहिस्कार गरिरहेको छ। एमालेले आफूले कारबाही गरेको १४ सांसद पदमुक्त भएको सूचना सभामुखले टाँस नगरेको जनाउँदै संसद बैठक अवरूद्धदेखि सर्वदलीय बैठक बहिस्कार गर्दै आएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया