अमेरिकामा कोभिड राहत कोषबाट अर्बौं डलर ठगी

काठमाडौं । अमेरिकामा कोभिड महामारीपछि स्थापना गरिएको राहत कोषबाट अर्बौं डलर बराबरको रकम ठगी भएको छ ।
महामारी सुरु भएयता कोभिड-१९ राहत कोषबाट झण्डै १०० अर्ब अमेरिकी डलर बराबरको रकम अपराधीहरूले ठगेको अमेरिकाको सेक्रिट सर्भिसले जनाएको हो ।

गृह मन्त्रालयअन्तर्गतको सेक्रिट सर्भिसले अपराधिक क्रियाकलापको छानबिन गर्दै आएको छ । यसले पछिल्लो समय कोभिड राहत कोषबाट ठगी गरिएको रकम खोजेर असुलउपर गर्ने अभियानसमेत सुरु गरेको छ ।सेक्रिट सर्भिसका अनुसार अमेरिकी सरकारले ‘पेचेक प्रोटेक्शन प्रोग्राम’ र ‘इकोनोमिक इन्जुरी डिजास्टर लोन प्रोग्राम’ जस्ता राहत कोषलाई दिएको ३.५ ट्रिलियन डलर रकममध्ये १०० बिलियन डलर जालसाजी गरेर निकालिएको छ । ठगी गरेर निकालिएको रकममध्ये अहिलेसम्म केबल २.३ बिलियन डलर (२ अर्ब ३० करोड) असुल गरिएको छ ।

‘म २९ वर्षभन्दा बढी समयदेखि कानून पालना गराउने निकायमा छु र २० भन्दा बढी समयदेखि जटिल खाले ठगी अपराधको छानबिनसमेत गरेको छु’, डटसनले भने, ‘तर, यसअघि यति ठूलो मात्रामा ठगी भएको कहिल्यै देखेको थिइनँ ।’ अनलाइनबाटै राहत कोषमा पहुँच हुने भएका कारण संगठित अपराधमा संलग्न मानिसहरूले यसबाट लाभ लिएको पनि उनको भनाइ थियो ।

एक हप्ताअघि कोभिड-१९ राहत कोषबाट ३३ लाख डलर निकालेर घर, महँगा कार र निजी जहाज किनेको आरोपमा टेक्सासका एक व्यक्ति पक्राउ परेका थिए । त्यस्तै, टेक्सासकै अर्का एक व्यक्तिले कोषबाट १६ लाख निकालेर महँगा कार र घडी किनेको पाइएपछि नौ वर्ष जेल सजाय सुनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया