नवीन र आयशा सम्मानित

काठमाडौं, माघ ११ गते । सुमेरु ग्रुपको सहयोगमा नेपाल तेक्वान्दो संघ बागमती प्रदेशले पल्सर स्पोर्ट्स अवार्ड– २०७६ अन्तर्गत वर्षका उत्कृष्ट प्रशिक्षक अवार्ड विजेता नवीनकुमार श्रेष्ठ र स्पेसल अवार्ड विजेता आयशा शाक्यलाई सम्मान गरेको छ ।नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा तामाङ तामाङको स्वागतमा आयोजित कार्यक्रम दुवैलाई सम्मान गरिएको हो । बागमती प्रदेशका अध्यक्ष केशव पुरीले खेलकुद मन्त्री तामाङलाई कार्यकाल सफलताका लागि शुभकामना दिदै प्रशंसा पत्र प्रदान गरे ।

सोही अवसरमा नवीन र आयशालाई बागमती प्रदेश र सुमेरु ग्रुपले छुट्टाछुट्टै प्रशंसा पत्र प्रदान गरी सम्मान गरेको हो । उनीहरुलाई खेलकुद मन्त्री दावा तामाङ, बागमती प्रदेशका अध्यक्ष पुरी र सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले प्रशंसा पत्र प्रदान गरे ।नवीन तेक्वान्दोका प्रमुख प्रशिक्षक तथा आयशा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्सेतर्फ दोहोरो स्वर्ण विजेता हुन् । १३ औं सागमै नवीन नेपाली राष्ट्रिय तेक्वान्दो टोलीको प्रमुख प्रशिक्षक थिए । १३ औं सागमा नेपालले तेक्वान्दोमा १२ स्वर्ण, ६ रजत र ११ कांस्य पदक जितेको थियो । तेक्वान्दोमा सहभागी सबै २९ खेलाडीले पदक चुमेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुद मन्त्री तामाङले सबै मिलेर खेलकुदमा रहेका समस्यलाई समाधान गर्नु पर्नेमा जोड दिदै खेलाडीको रोकिएको प्रोत्साहन भत्ता निकासा गरिसकेको जानकारी गराए । उनले १३ औं सागका स्वर्ण विजेता खेलाडीको प्रोत्साहन भत्ता पनि निकासाका लागि खेलकुद मन्त्रालयले प्रकृया अगाडि बढाइसकेको बताए ।

बागमती प्रदेशका अध्यक्ष पुरीले राष्ट्रिय खेल संघले हासिल गरेको उपलब्धी र कृयाशिलताका आधारमा संघहरुको वर्गिकरण गरी सहयोग गर्नु पर्ने आवश्यकता औल्याए ।
सुमेरुका अध्यक्ष महर्जनले १४ औं सागमा स्वर्ण जित्ने खेलाडीलाई २ लाख नगद पुरस्कार उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
कार्यक्रममा सेकेन्ड क्लास रेफ्रीमा उत्तीर्ण हुन सफल पुम्सेका नोर्बु लामा र ग्योरोगीका रविन्द्र मल्ललाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।

नेपाल ओपनमा पारा विधा थप
नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तथा हाइ स्पिड किक तेक्वान्दो प्रतियोगितामा फरक क्षमता भएका खेलाडीका लागि पारा विधा पनि थप गरिएको छ । यसअघि पुम्से र हाइ स्पिड किक मात्र राखिएकोमा पारा खेलाडीहरुको मनोबल बढाउने उद्देश्यले पारा विधा पनि थपिएको प्रतियोगिता संयोजक एवं तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन् ।

श्रेष्ठका अनुसार नेपाल, थाइल्यान्ड, मेक्सिको, भेनेन्जुएला र बुरुन्डीबाट ११ खेलाडी सहभागी हुने छन् । सबैको दर्ता शुल्क निःशुल्क गरिएको छ ।
कोटेश्वर तेक्वान्दो डोजाङ, स्यूचाटार तेक्वान्दो डोजाङ, मूलपानी तेक्वान्दो डोजाङ, बाल गीताञ्जली स्कुल, मोर्निङ ग्लोरी स्कुल र काभ्रेस्थली तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा प्रतियोगिता माघ १३ र १४ गते हुँदै छ । प्रतियोगितामा ३१ राष्ट्रबाट १ हजार ३ सय १५ खेलाडीको सहभागिता निश्चित भइसकेको आयोजकले जनाएको छ ।
कोटेश्वर तेक्वान्दो डोजाङबाट सञ्चालन हुने प्रतियोगिताको पुम्सेतर्फ ६० र हाइ स्पिड किकमा ३० गरी ९० स्पर्धा समावेश छन् । ५ नेपाली र ७ विदेशी गरी १२ निर्णायकले प्रतियोगिता सञ्चालन गर्ने छन् । प्रतियोगिताको तयारी लगभग पूरा भएको संयोजक श्रेष्ठले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया