काठमाडौं, १४ भदौ । विश्वभर फैलिएको कोरोना (कोभिड–१९) को संक्रमण नेपालको अवास्थामा चिन्ताजनक बन्दै गएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटका अनुसार उक्त जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा १२२१ जनामा संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ७१७ नमुना परीक्षण गर्दा ३४८ महिला र ८७३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार आज थप २६७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २० हजार ८२२ पुगेको छ ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा आज थप ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना गरी जम्मा ४२९ जना संक्रमित थपिएका छन् ।
त्यसैगरी आज कोरोनाको संक्रमणबाट थप १४ जना मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २२१ पुगेको छ ।मन्त्रालयका अनुसार आज ४ महिला र १० पुरुषको मृत्यु भएको छ । हालसम्म कूल संक्रमितको ५४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।