प्रहरीको गोली लागेर पहिलोपटक विप्लवका कार्यकर्ता तीर्थराज घिमिरे मारिए !

फाइल फोटो

काठमाडौँ, मंगलवार दिउँसो भोजपुर र खोटाङ्गको सिमानामा पर्ने मैयुम क्षेत्रको धोत्रे भन्ने ठाउँमा प्रहरी र विप्लब कार्यकर्ता बीच भएको गोली हानाहानमा विप्लब कार्यकर्ताको मृत्यु भएको छ ।

गोली हानाहानमा खुट्टामा गोली लागेका विप्लब कार्यकर्ता तिर्थराज घिमिरे गम्भीर घाइते भएका थिए । उनलाई प्रारम्भिक उपचार पश्चात थप उपचारको लागी लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको हो ।

भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाका अनुसार भोजपुर नगरपालिकास्थित भैसीपंखाको आइतबारे भीर नजिकै खसेकाे पहिरोले बाटाे अवरुद्ध भएको कारण उनलाई समयमा अस्पताल पुर्याउन नसक्दा उनको मृत्यु भएको हो ।

प्रहरीले मुठभेडका क्रममा गोली लागेर घिमिरे घाइते भएको दाबी गरेको भएता पनि यस दाबीलाई खण्डन गर्दै नेकपा सगरमाथा व्युरोका नेता शैलेसले प्रहरीसँग कुनै मुठभेड नभएको र प्रहरीले आफ्ना कार्यकर्तालाई नियन्त्रणमा लिएर हत्या गरेको बताएका छन् ।

षडानन्द नगरपालिका–२, कुदाककाउलेका ३२ वर्षीय घिमिरे विप्लव समूहका संगठित सदस्य हुन् । सरकारले विप्लब माथि प्रतिबन्ध लगाए संगै विप्लब कार्यकर्तालाई नियन्त्रणमा लिने कार्य भैरहेको भएता पनि ज्यान नै गएको यो पहिलो घटना हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया