५० जनाभन्दा बढीबाट साढे दुई करोड ठगी गर्ने महिला जेल चलान !

चिप्लेढुङ्गा, ३१ असार/ठगी आरोप लागेकी बागलुङ रणसिंह किटेनीकी सरिताकुमारी राना उच्च अदालतको फैसलापछि जेल चलान गरिएकी छन् ।

पोखराको अर्घौचोकमा बस्दै आएकी सरिताले ५० जनाभन्दा बढीबाट रु साढे दुई करोड ठगी गरेको आरोपमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश यज्ञप्रसाद बस्याल र न्यायाधीश नरबहादुर शाहीको इजलासले सो फैसला गरेको हो ।

पुर्पक्षका लागि थुनामा रहेकी सरितालाई रु साढे दुई करोड बिगो र सोही बमोजिमको जरिवाना गरी रु पाँच करोड भराउने फैसला गरिएको थियो ।

तर सरिताले सो जरिवाना तिर्न नसकेपछि जेल चलान गरिएको रजिस्ट्रार जीतेन्द्रबाबु थपलियाले बताउनुभयो ।

आफन्त, छिमेकी, साथीभाइसँग विभिन्न बहानामा करोडौँ रकम लिएकी सरिताविरुद्ध विसं २०७५ माघ १ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा पहिलो उजुरी परेको थियो ।

माघ ७ गते उनलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरी पोखरा ल्याएर अनुसन्धान अगाडि बढाइएको थियो ।

माघ १० गते दर्ता भएको मुद्दामा माघको अन्तिम साता तत्कालीन मुख्य न्यायाधीश जीवनहरि अधिकारीको इजलासले उक्त धरौटी माग गरिएकामा तिर्न नसकेपछि उनलाई पुर्पक्षका लागि थुनामै राखिएको थियो ।

बैंकिङ कसुर मुद्दामा बिगो, बिगो बराबर जरिवाना र तीन महीनासम्म जेल सजाय हुनसक्ने व्यवस्था रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया