हार्दिक बधाई गगन थापा कांग्रेस महामन्त्रीमा निर्वाचित

काठमाडौँ / नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा निर्वाचित भएका छन्।उनी ९५९ मत गणना गर्न बाँकी छदै महामन्त्रीमा निर्वाचित भएका हुन्। उनी निर्वाचित भएको आधिकारिक घोषणा हुन भने बाँकी छ।कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ३७२० मत गणना हुँदा थापाले २४०९ मत पाएका छन्।

त्यस्तै, दोस्रो नम्बरमा रहेका विश्वप्रकाश शर्माले १५३१ मत पाएका छन् भने तेस्रो नम्बरमा प्रकाश शरण महतले १२२३ मत पाएका छन्।पहिलो नम्बरमा रहेका थापा र तेस्रो नम्बरमा रहेको महतको मतान्तर ११८६ छ। अब गणना गर्न ९५९ मत मात्रै बाँकी छ। सबै मत महतले पाउँदा पनि थापालाई उछिन्न सक्दैनन्।

कांंग्रेसमा दुई महामन्त्री निर्वाचित हुनेछन्। दोस्रोका लागि शर्मा, महत र प्रदीप पौडेलबीच प्रतिस्पर्धा छ। शर्माले १५३१, महतले १२२३ र पौडेलले ११०७ मत पाएका छन्।त्यस्तै, महामन्त्रीका अर्का उम्मेदवार मिनेन्द्र रिजालले ६४४ र राजाराम कार्कीले ८८ मत पाएका छन्। कांग्रेस महाधिवेशनमा ४६७९ मत खसेका छन्। महाधिवेशनमा ४७४३ मतदाता रहेका थिए। आज बिहान १०ः२० बजेदेखि मतगणना शुरू भएको हो।

यसअघि उपसभापतिको पनि सानेपामै मतगणना भएको थियो। उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया