काठमाडौँ – यातायात व्यवस्था विभागले एउटा प्रदेशबाट अर्को प्रदेशमा जाने सवारी साधनमा भाडा बढाए पनि यातायात व्यवसायीले भने राजधानीमै सकेजति असुल्न थालेका छन् । विभागको वेबसाइटमा गत असार ३१ गते अन्तर प्रदेशमा चल्ने सार्वजनिक सवारीमा भाडा बढाइएको सूचना राखिएको छ । राजधानीमै व्यवसायीले मनपरी भाडा लिँदा पनि विभागले अनुगमन नगरेको यात्रुको गुनासो छ । यात्रु रामचन्द्र सिम्खडाले शुक्रबार गोकर्णेश्वरबाट जोरपाटीसम्म तीन किमीभन्दा कम दूरी यात्रा गरेको भाडा रु २० असुलेको बताए । बढी भाडा लिने बा २ ख ६८०५ नंको बसका बारेमा प्रहरीलाई जानकारी गराए पनि कारबाही भएन ।
ट्राफिक प्रहरीको नं १०३ मा फोन गरी तोकिएको भन्दा रु छ बढी भाडा लिएको जानकारी गराए पनि कारवाही नभएको उहाँको दुःखेसो छ । फोन उठाएका ट्राफिक प्रहरी चन्द्र केसीले कारवाही गराएर पछि जानकारी गराउँछौँ भनेको यात्रु सिम्खडाले बताए । त्यो सवारीपछि पनि दादागिरी देखाउँदै सडकमा कुदेकाले कारवाही नभएको उनको ठम्याइ छ । साउन लागेसँगै भाडा बढेको छ भनी ठगिनेमा सिंखडा प्रतिनिधि पात्र मात्र हुन् ।
यही साउन १ गते शुक्रबार नै रत्नपार्कबाट गौशालासम्म सार्वजनिक यातायातमा यात्रा गर्दा यात्रु रमा भट्टराईले तोकिएभन्दा रु छ नै बढी भाडा तिरिन् । असार ३१ गतेदेखि भाडा बढेको छ । अब चढेपछि न्यूनतम रु २० भाडा भएको छ भन्दै बा ५ ख २७६४ नंको बसका परिचालकले भट्टराईसँग बढी भाडा असुलेका हुन् ।
छोटो दूरीमा रु छ र लामो दूरीमा दोब्बरसम्म बढी भाडा असुली भइरहेको भएपनि अनुगमन गर्नुपर्ने निकाय मौन छन् । विभागको वेबसाइटमा राखिएको ल्याण्डलाइन फोन सम्पर्क गरेर जानकारी गराउन खोज्दा फोन नउठ्ने गरेको यात्रुको गुनासो छ । वेबसाइटमा विभागका सूचना अधिकारी डा.लोकनाथ भुसालको मोबाइल नम्बरसमेत राखिएको छ । भुसालको ९८५१२५३१३५ मोबाइल नंमा पटकपटक फोन गर्दासमेत उठ्दैन । महानिर्देशक नमराज घिमिरेको मोबाइल नम्बरसमेत पत्ता लगाएर फोन गरे पनि नउठेको यात्रु बताउँछन् ।
पटक–पटकको मोबाइल सम्पर्कपछि फोन उठाएका सूचना अधिकारी भुसालले विभागले अन्तर प्रदेशमा मात्र भाडा बढाउन पाउने व्यवस्थाअनुसार एक प्रदेशबाट अर्को प्रदेशमा जाँदा बढी लिन पाइने गरी बिहीबारदेखि भाडा बढाइएको बताए । प्रदेशभित्र र स्थानीय तहको क्षेत्रमा चल्ने सवारीको भाडा बढाउने अधिकार प्रदेश र स्थानीय सरकारलाई नै दिइएको उनले जानकारी गराए ।







