लगातारको वर्षाले देशभरका खोला तथा नदीमा पानीको बहाव बढेको छ । मुलुककै ठूलो सप्तकोशी नदीले पनि खतराको संकेत गरिसकेको छ ।
सप्तकोशीमा पानीको बहाव बढेसँगै उदयपुर र सुनसरीको बीचमा रहेको श्रीलंका टापु (कोशी टप्पू) बासी त्रसिद बनेका छन् ।
उदयपुरको बेलका नगरपालिकाको पूर्वी भेग (कोशीवारी) र सुनसरीको बराह नगरपालिकाको पश्चिम क्षेत्रमा छ श्रीलंका टापू ।
उदयपुरलाई केन्द्रबिन्दु बनाएर ३१ वर्ष अगाडि गएको भूकम्पले सप्तकोशीको धार परिवर्तन भएपछि श्रीलंका टापू बनेको हो ।
पहिला सप्तकोशी बगेको क्षेत्र नै श्रीलंका टापु हो । कोशीको धार फेरिँदै गएर कोशी पूर्णतः सुनसरीको भूभाग हुँदै बग्न थालेको छ ।
कोशी पूर्व सरेपछि पश्चिमको भागमा बस्ती बस्यो । उक्त बस्ती बढ्दै अहिले त्यहाँ १२ हजार बढी घरधुरी पुगिसकेको छ ।
बराह नगरपालिकाकी उपप्रमुख कमला मगरका अनुसार कोशीमा पानीको बहाव बढेसँगै श्रीलंका टापुबासी खतरामा परेका छन् । नदीको बढ्दो पानीले श्रीलंका टापुको जमिन निरन्तर कटान गरिरहेको छ ।
उपप्रमुख मगरका अनुसार टापु डुबानमा नपरे पनि पानीको धारले १०० मिटरभन्दा बढी जमिन कटान गरिसकेकाले चिन्ता बढेको हो । नदीमा पानीको मात्रा नघटे जमिन कटान बढ्दै जाने छ ।
नगरपालिकाका नगरप्रमुख निलम खनालका अनुसार टापुबासीलाई टापुभित्रकै सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । टापुबासीका लागि भनेर नगरपालिकाले न्यानो लुगा र केही खानेकुरा पनि पठाएको छ ।
नदीमा पानीको बहाव बढेपछि आवतजावत गर्न नसकिने उक्त टापुमा नदीमा पानी बढ्नु अगावै न्यानो लुगा पठाइएको नगरप्रमुख खनालले बताए ।
श्रीलंका टापु क्षेत्र बेलका नगरपालिकाले पनि छुन्छ । बेलका नगरपालिका–३ का वडाअध्यक्ष भरत दर्लामीले टापुबासीलाई सतर्क रहन आग्रह गरिएको बताए ।
बेलका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्कर भट्टराईले कोशी र भंगालोहरुले टापुबासीलाई असर पार्न सक्ने देखिएकाले सजगता अपनाउन आग्रह गरिएको, उच्च जोखिममा रहेकालाई सुरक्षित स्थानमा सारिएको बताए ।
टापुका सञ्जीव राईले निरन्तर पानी परिरहेको र सप्तकोशीले हानी पुर्याउन सक्ने चिन्ताले केही दिनयता निन्द्रा नै लाग्न छाडेको बताए ।







