काठमाडौँ, बुधबार संसदमा विनियोजन विधेयकमाथि भएको छलफलमा बोल्दै सत्तारुढ नेकपाका सांसद जनार्दन शर्मा ‘प्रभाकर’ ले बजेट योजना पूर्व प्रि–बजेट भन्दा पनि विस्तृत बजेटबारे सांसदको धारण माग्नु पर्ने धारणा व्यक्त गरेका छन् ।
उनले भने, ‘ हामीले व्यर्थमा समय फालिरहेका छौँ । हामीले समयको दुरुपयोग गरिरहेका छौँ । संसदमा यत्रो समयको दुरुपयो गर्नु जरुरी छैन । यो सिस्टम बदलौँ । योजना पूर्व आउने प्रिबजेट भन्ने शीर्षकमा यसो दुइ–चार कुरा राख्यो । योजना पूर्व प्रिबजेट होइनकी विस्तृत बजेटबारे माननीयहरुका धारणा लिने, त्यसपछि बजेट बनाउने सिस्टको विकास गरौँ । छलफल पछि नगर्रौ, बजेट प्रस्तुत हुन्छ त्यही दिन पास गरौँ । यसो नगर्दा वायतमा समय खेर जाने हुनालले मैले यो सुझाव राखेको छु । ‘
साथै शर्माले युवाहरुलाई विदेश पठाउने कुरा मात्र भएको भन्दै देशको शिर नै निहुरिएको समेत बताए । उनले भने, ‘ मैले भन्नै पर्छ । देशभरी श्रम सहकारी गठन होला, तीनलाई तालिम दिएला, साधन स्रोत दिएला, अनि हजारौँ युवाहरुलाई काम दिइएला भन्ने सोचेको थिएँ । यस्तै हरेक गाउँ आत्मनिर्भर बनाउँ भन्ने नारा आउँला भन्ने सोचेको थिएँ । अहिले विदेशमा कहाँ के सम्झौता भयो भनेर छाती फुलाउने अवस्था छ । देशको शिर निहुरिएको छ, म दुःखी छु । युवाहरुलाई विदेश पठाएर मात्र हुँदैन । ‘
त्यसैगरी पूर्व उर्जामन्त्रीसमेत रहेका सांसद शर्माले उर्जा मन्त्रालयको बजेटप्रति पनि असन्तुष्टि व्यक्त गर्दै भने, ‘ आफ्नो नेतृत्वमा लोडसेडिङ अन्त्य हो । त्योगरे वापत मैले सजाय पाएँ । मेरो जिल्लाका जनताले मलाई भने गत वर्ष त भुल भयो भनिस्, यो वर्ष के भयो ? फेरि अँध्यारोमा बस्नुपर्ने भयो, त्यसका लागि म मन्त्रीजीलाई धन्यवाद दिन चाहन्छु । ‘
झण्डै २ करोड रहेको बजेट अपुग भएको र मिल्ने भए त्यसमा अर्को २ करोड थपिदिन पनि उनले आग्रह गरे । भौतिक पूर्वाधार मन्त्रालयको बजेटप्रति पनि चर्को असन्तुष्टि जनाएका उनले नेतामुखी बजेट बनेको बताए ।
उनले भने, ‘ २ ४० लेखेको छ । करोड हो कि लाख हो ?’ उनले अघि भने, ‘२ करोड ४० लाख भएपनि २ लाख ४० हजार भएपनि यो शीर्षक रुकुमबाट हटाइयोस् । रकमान्तर गरेर झापा हालियोस् । म सम्माननीय प्रधानमन्त्रीलाई सहयोग गर्न चाहन्छु । यसले झापा मात्र भन्यो भनेर मन्त्रीलाई दुःख लागे थोरै बजेट जनकपुरमा लैजान मेरो सुझाव छ । ‘







