राष्ट्रपति ट्रम्पले पत्रकार सम्मेलन गरिरहेको समयमा ह्वाइट हाउसमा गोली चल्यो

वासिङ्टन, २७ साउन। ह्वाइट हाउसको बाहिर एक व्यक्तिसँग विवाद भएसँगै अमेरिकी गुप्तचर सेवाका एक अधिकृतले ती व्यक्तिमाथि सोमबार गोली चलाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेलिभिजनबाट पत्रकार सम्मेलन गरिरहेको समयमा उक्त घटना भएको थियो । अधिकारीहरुले पत्रकार सम्मेलनकै बीचमा राष्ट्रपति ट्रम्पलाई घटनाका बारेमा जानकारी गराएका थिए ।

अमेरिकी गुप्तचर सेवाका प्रमुख टम सुलिभानले ह्वाइट हाउस परिसर सुरक्षित रहेको र कसैबाट खतरा नरहेको बताउनुभयो । सुलिभानले गोली लागेका व्यक्तिले आफूसँग हतियार रहेको दाबी गरेको बताउनुभएको छ । नाम थर नखुलाइएका ती ५१ वर्षीय पुरुषले गुप्तचर सेवाका अधिकृतमाथि एक्कासी जाइलागेको पनि सुलिभानले बताउनुभयो । कानुन कार्यान्वयन अधिकारीहरुले ती व्यक्तिको उद्देश्य पहिल्याउने प्रयास गरिरहेका छन् ।

राष्ट्रपति ट्रम्पले कोरोनाभाइरससँग सम्बन्धित विवरण सार्वजनिक गर्नै लाग्दा अमेरिकी सिक्रेट सर्भिसका एजेन्टले ट्रम्पलाई ब्रिफिङ कक्षबाट भित्र लगेका थिए । राष्ट्रपति ट्रम्प ९ मिनेटपछि पुनः ब्रिफिङ कक्षमा प्रवेश गर्नु भएको थियो । उहाँले ह्वाइट हाउस बाहिर गोली चलेको र त्यो नियन्त्रणमा आइसकेको जानकारी दिनुभएको थियो । ट्रम्पले भन्नुभयो, “त्यहाँ साँच्चिकै गोली चलेको र एक व्यक्तिलाई अस्पताल लगिएको छ ।” ट्रम्पले एजेन्टले आफूलाई ओभल अफिसमा लगेको जानकारी पनि दिनुभयो । उक्त घटनापछि ह्वाइट हाउसलाई लकडाउन गरिएको थियो । सोमबार साँझ सुलिभानले जारी गरेको एक वक्तव्यमा गोलीकाण्ड स्थानीय समयअनुसार साँझ ६ बजे भएको उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया