काठमाडौँ, १७ साउन । काठमाडौँको बालाजुमा मेलम्ची खानेपानीको पाइप सफा गर्ने क्रममा दुई मजदुरकाे मृत्यु भएको छ ।
शुक्रबार बिहान ०९ः५० बजे काठमाडौँ महानगरपालिका-१६, बालाजु चोकस्थित मेलम्ची खानेपानी आयोजनाको ठूलो पाइपभित्र प्रवेश गरी सफा गर्ने क्रममा उनीहरुको मृत्यु भएकाे हाे ।
मृत्यु हुनेमा सप्तरीका २५ वर्षीय सुरेश साह र उनका सहोदर भाइ २० वर्षीय शिककान्त साह रहेको महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी बालनरसिंह राणाले जानकारी दिए ।
बिहानै मेलम्चीको पाइप सफा गर्न सडकमा रहेको म्यानहोलबाट छिरेका उनीहरू त्यही अड्किएका थिए । लामो समयसम्म बाहिर ननिस्किएपछि प्रहरीले डोजर लगाएर खनेर दुवैलाइ निकालेको थियो।
महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी बालनरसिंह राणाका अनुसार अर्धचेत अवस्थामा बाहिर निकालिएका दुवैलाई तत्काल शिक्षण अस्पताल लगिएको थियो । तर, अस्पतालले दुवैलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
अहिले उनीहरूको शव शिक्षण अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।







